काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले शुक्रबार महाधिवेशन गर्दैछ । महाधिवेशन शुक्रबार दिउँसो सवा ११ बजे काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा उद्घाटन हुने प्रचार-प्रसार इन्चार्ज गुणराज लुइँटेलले जानकारी दिए ।
महाधिवेशनमा वैचारिकरुपमा वैज्ञानिक समाजवादको कार्यदिशा, राजनीतिकमा स्वाधीन संयुक्त सरकार, त्यसको सारमा राज्यप्रणाली, आर्थिक संरचनालगायतका विषयमा छलफल हुने धर्मेन्द्र बास्तोला कन्चनले जानकारी दिए ।
‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट छुट्टिएको बहुमतले यो महाधिवेशनलाई नवौँ भनेको छ ।
‘विप्लव’बाट छुट्टिएपछि मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग एकता गरेको बहुमत त्यहाँबाट पनि अलग भएको हो । बहुमतका तत्कालीन नेता हेमन्तप्रकाश ओली (सुदर्शन) भने वैद्यकै पार्टीमा छन् ।