२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

रातोकिताब सार्वजनिक नहुँदै बजारमा आएको भन्दै कांग्रेसले माग्यो मुख्यमन्त्रीको राजीनामा

ADV
सुनिल आउजी
२०८१ असार ११ गते २०:५४
रातोकिताब सार्वजनिक नहुँदै बजारमा आएको भन्दै कांग्रेसले माग्यो मुख्यमन्त्रीको राजीनामा

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ कार्यक्रम पुस्तिका रातोकिताब सार्वजनिक नहुँदै बजारमा आएको नेपाली कांग्रेसले दाबी गरेको छ । 

प्रदेश सरकारले असार १ गते प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गरेको थियो । सो बजेट कार्यक्रम पुस्तिका रातोकिताब हालसम्म प्रदेश सभामा छलफलको लागि पेस नगरी बजारमा आएको कांग्रेसले दाबी गरेको हो ।

धनगढीमा मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले मुख्यमन्त्री दीर्घ बहादुर सोडारीको राजीनामा समेत माग गरेको छ । कांग्रेसका सांसद तथा पूर्वमन्त्री प्रकाश देउवाले हालसम्म प्रदेश सभामा पेस नगर्दै बजारमा रातो किताब पाउनु गम्भीर कुरा रहेको बताए ।

उनले भने,‘हाम्रो हातमा पनि अफिसियल्ली रूपमा आएको छैन । हामीले पनि बजारबाट पाएका हौं । यो किताब व्यक्तिको मोबाइलमा, ह्वाट एपमा आएको छ । यो एकदमै गम्भीर कुरा हो ।’ प्रदेश सरकारले बजेट निर्माणमा प्रक्रिया समेत पुरा नगरेको सांसद देउवाको आरोप थियो ।

त्यस्तै कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमल बहादुर शाहले सरकार गैरजिम्मेवार बनेको भन्दै तत्काल राजीनामा माग गरे । उनले भने, ‘हामी सडक र सदनमा सरकारविरुद्ध प्रतिरोध गर्छौ । सरकारले नैतिक रूपमा राजीनामा दिनुपर्छ ।’

तर प्रदेश सरकारले कुनै पनि माध्यममा हालसम्म रातो किताब नराखेको जनाएको छ । सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री सुरेन्द्र पालले आधिकारिक रूपमा रातोकिताब सार्वजनिक नगरिएको बताए । उनले अर्थ सचिव सरुवा भएको कारण रातोकिताब सार्वजनिक हुन नसकेको भन्दै केही दिनमै सार्वजनिक गर्ने बताए । रातोकिताब सामाजिक सञ्जालमा आएको विषयमा मन्त्री पालले त्यसबारे अध्ययन गरिरहेको र आफू गृह जिल्ला बैतडी रहेको प्रतिक्रिया दिएका छन् । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise