२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

प्रेस संगठनका अध्यक्ष सुवेदी प्रेस चौतारीमा

Nada
२०८१ माघ ४ गते १८:०८
Shares
प्रेस संगठनका अध्यक्ष सुवेदी प्रेस चौतारीमा

काठमाडौं : समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितका बहुसंख्यक पदाधिकारी एमाले निकट प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् ।

ncell

एमाले महासचिव शंकर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र चौतारीका अध्यक्ष गणेश बस्नेतले सुवेदीसहितको टीमलाई प्रेस चौतारीमा स्वागत गरेका हुन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पत्रकार भ्रातृ संगठन रहेको समाजवादी प्रेस संगठनको २०८० जेठमा सम्पन्न महाधिवेशनबाट सुवेदी अध्यक्षमा निर्वाचित भएका थिए ।

५ पुस २०७७ मा संसद विघटन भएपछि तत्कालीन नेकपा सम्बद्ध प्रेस संगठनमा प्रचण्ड–समूहअन्तर्गत प्रेस चौतारी पृष्ठभूमिका पत्रकारको नेतृत्व सुवेदीले गरेका थिए । पार्टी विभाजन भएपछि प्रेस चौतारीको उक्त समूहले समाजवादी प्रेस संगठन स्थापना गरेका थिए ।

सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गरेका छन् ।

अध्यक्ष सुवेदीले प्रेस चौतारीमा केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् । २०५० सालमा छलफल साप्ताहिकबाट पत्रकारिता सुरु गरेका उनले २०५५ सालदेखि गत साउनसम्म जनआस्था साप्ताहिकका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । उनी हाल नेपाल प्रेसमा आवद्ध छन् ।

यसैबीच समाजवादी प्रेस संगठन नेपालले अध्यक्ष सुवेदीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । प्रेस संगठनले सुवेदीमाथि चार वटा आरोप लगाएको छ । 

संगठनका वरिष्ठ उपाध्यक्ष नवराज छतकुलीले सुवेदीले लामो समयसम्म संगठनको बैठक नबसाएको, नेपाल पत्रकार महासंघको निर्वाचनमा विपक्षी उम्मेदवारलाई सघाएको, आर्थिक हिनामिना गरेको तथा संगठनका विरुद्ध निरन्तर गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएका छन् । 
 

ताजा खबर

सम्बन्धित खबर