२०८१ माघ ६ गते आइतवार / Jan 19 , 2025 , Sunday
२०८१ माघ ६ गते आइतवार
Ads

वामदेव गौतम अब एमालेमा जाने, राष्ट्रिय अभियान फुट्यो

hardik ivf
मध्यान्ह
२०८१ माघ ६ गते १६:५४
वामदेव गौतम अब एमालेमा जाने, राष्ट्रिय अभियान फुट्यो

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अन्ततः एमालेमा फर्किने भएका छन् ।

नेकपा (एकीकृत समाजवादी)मा समाहित हुन पछिल्लो समय वार्ता गरिरहेका गौतमले अब एमालेमा फर्किने निर्णय गरेका हुन् । एमाले प्रवेश गर्ने पटक–पटकको प्रयासले सार्थकता नपाएपछि गौतमले एकीकृत समाजवादीतिर जाने मन बनाएका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पार्टी प्रवेशका विषयमा पटकपटक छलफल गरेका उनी वरिष्ठ नेता भएर जाने निश्चित भइसकेको थियो । तर अरु जिम्मेवारी भने टुंगिएको थिएन ।

हालै बसेको एमालेको केन्द्रीय समितिको बैठकले विभिन्न समयमा पार्टीबाट अलग भएका नेताहरूलाई पार्टीमा फिर्ता हुन आह्वान गरेपछि गौतमले एमालेमा फर्किने मन बनाएका हुन् ।

आइतबार एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएपछि गौतम एमालेमा फर्किने लागेका  हुन् ।

अध्यक्ष ओलीसँगको छलफल पछि गौतमले अब एकीकृत समाजवादीसँग यस बीच भएका वार्ताहरूको औचित्य सकिएको बताए । ‘माधवजीसँग पटकपटक कुराकानी भयो, तर एकीकृत समाजवादीबाट कतिपय आशंकाजस्तो व्यक्त गर्ने काम पनि भयो,’ गौतमले भने, ‘अब एमालेमै लाग्ने भएँ ।’

यसैबीच गौतमले नेतृत्व गरिरहेको नेकपा एकता राष्ट्रिय अभियान फुटेको छ । गौतम एमालेमा जाने भएपछि असन्तुष्ट केही नेताहरू माओवादी केन्द्रमा जाने घोषणा गरेका छन् ।

उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बुहमत केन्द्रीय समिति सदस्यहरू गौतमबाट अलग भएको घोषणा गरेका छन् ।

काठमाडौंमा आइतवार पत्रकार सम्मेलन गर्दै उनीहरूले नेकपा एकता राष्ट्रिय अभियान परित्याग गरेको घोषणा गरेका हुन् । अर्याल अभियानमा लुम्बिनी प्रदेश इन्चार्ज थिए । त्यस्तै, कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेश प्रदेश इन्चार्ज हरि काफ्लेले पनि गौतमको साथ छाडेका छन् ।

उनीहरूले एकता र समायोजनको लागि विचार मिल्ने माओवादी केन्द्रलगायत विभिन्न वामपन्थी दलसँग वार्ता गर्ने बताएका छन् । त्यसका लागि ४ सदस्यीय वार्ता समितिसमेत गठन गरेका छन् । वार्ता समितिको संयोजकमा अर्याल आफै छन् भने काफ्ले, सुब्बा र भट्टराई समितिमा सदस्य छन् ।

गौतम निःशर्त एमालेमा प्रवेश गर्नुपर्छ भन्ने ढंगले अगाडि बढेपछि विभाजनको बाटो रोज्नु परेको उनीहरूले बताएका छन् । एमालेभन्दा माओवादी केन्द्र नै अग्रगामी शक्ति रहेको उनीहरूको निष्कर्ष छ ।


 

ADVADV

सम्बन्धित खबर

Advertise