२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

सामाजिक सुरक्षामा सहभागी हुन दूतावासको आग्रह

Nada
२०८१ माघ ८ गते ०६:२५
Shares
सामाजिक सुरक्षामा सहभागी हुन दूतावासको आग्रह

काठमाडौं : कुवेतस्थित नेपाली दूतावासले सरकारले ल्याएको सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन नेपाली श्रमिकलाई आग्रह गरेको छ । वित्तीय सचेतना, विप्रेषण तथा सामाजिक सुरक्षा कोषलगायत महत्त्वपूर्ण विषयहरूमा सचेतना अभिवृद्धिका लागि कुवेतस्थित वित्तीय संस्था तथा मनी ट्रान्सफर एजेन्सीको भूमिका सम्बन्धमा ‘वित्तीय सचेतना तथा सुरक्षित विप्रेषण आप्रवाह’ विषयक अन्तरक्रिया कार्यक्रम गरी दूतावासले सो आग्रह गरेको हो ।

ncell

कार्यक्रममा कुवेतका गैरआवासीय नेपाली संघ, नेपाल पत्रकार महासंघ वैदेशिक शाखाका प्रतिनिधि र नेपालमा पैसा पठाउने कुवेतस्थित अधिकांश वित्तीय क्षेत्रका संघसंस्थामा कार्यरत नेपाली प्रतिनिधिको सहभागिता रहेको दूतावासले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत घनश्याम लम्सालले कुवेतमा कार्यरत नेपाली श्रमिकलाई वित्तीय सचेतनाका बारेमा जानकारी दिन आवश्यक रहेको बताए । वित्तीय सचेतना र सामाजिक सुरक्षा कार्यक्रमको महत्त्वका बारेमा नेपाली श्रमिकलाई सरल तरिकाले बुझाएर उक्त कार्यक्रममा समेट्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमका सहभागीले वित्तीय सचेतना, नेपालमा विप्रेषण पठाउने तरिका यसको प्रवृत्ति र सम्भावनाहरू तथा सामाजिक सुरक्षा कोषलाई अझ प्रभावकारी बनाउन र श्रमिकको सहभागिता वृद्धि गर्ने सम्बन्धमा आ–आफ्ना धारणाहरू राखेका थिए । 

सहभागीले वित्तीय सचेतनाको विषयमा राजदूतावासबाट सम्बोधन भएकामा राजदूतावासलाई धन्यवाद दिएका थिए । उक्त कार्यक्रममा कुवेतको वित्तीय क्षेत्रमा कार्यरत नेपाली प्रतिनिधि तथा राजदूतावासका अन्य कूटनीतिक कर्मचारीहरुको उपस्थिति थियो ।

सम्बन्धित खबर