ललितपुर : ललितपुर महानगरपालिकाले साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ ।
आइतबार महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कार्यक्रमको शुभारम्भ गरेका हुन् । महानगरले ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ गरेको हो ।
सडक सुरक्षाका लागि जनचेतना फैलाउने र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ साप्ताहिक ट्राफिक सचेतना शुरु गरिएको महानगरको भनाइ छ ।
कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख महर्जनले हालै मात्र महानगरपालिकाले इन्टेलिजेन्स ट्राफिक लाइटको शुभारम्भ गरेको बताए । केही कठिन काम भए पनि कार्यान्वयन शुरु गरेको र अब ३६५ दिन नै अनवरत रूपमा कहिल्यै ननिभ्ने गरी सञ्चालन हुने बताए ।
अर्को वर्ष पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म र जावलाखेलबाट लगनखेल हुँदै हरिसिद्धिसम्म र जावलाखेलबाट एकान्तकुना—भैंसेपाटी हुँदै बुङमतीसम्म इन्टेलिजेन्स ट्राफिक लाइट सञ्चलनमा ल्याउने पनि उनले बताए ।
प्रमुख महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गरिरहेको बताए ।
साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत ललितपुरको महानगर प्रहरी, ट्राफिक प्रहरी र स्वयंसेवकहरूले चोक–चोकमा बसेर ट्राफिक सचेतना प्रदान गर्ने बताइएको छ ।