२०८१ माघ १८ गते शुक्रवार / Jan 31 , 2025 , Friday
२०८१ माघ १८ गते शुक्रवार
Ads

डढेलो नियन्त्रणमा जुट्न साझा प्रतिबद्धता

hardik ivf
सुर्य प्रसाद भुसाल
२०८१ माघ १७ गते २१:२८
डढेलो नियन्त्रणमा जुट्न साझा प्रतिबद्धता

अर्घाखाँची : वन कार्यालय अर्घाखाँचीले वन डढेलो नियन्त्रण र रोकथाम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सबै सरोकारवालाहरुको साझा प्रयासबाट मात्रै वन डढेलो नियन्त्रण गर्न सकिने बताइएको छ । 

वन क्षेत्रको समस्याका रुपमा रहेको वन डढेलो, वन अतिक्रमण नियन्त्रण, वन पैदावारको चोरी, तस्करीको न्यूनीकरण लगायतका समस्या कम गर्न सबै लाग्नुपर्नेमा सहभागिहरुको जोड थियो । 

कार्यक्रममा डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा डढेलो नियन्त्रणका लागि जिल्लामा गरेका गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रममा डिभिजन वन कार्यालय अर्घाखाँचीले संस्कृति तथा पर्यापर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा भएका विकास निर्माणका कामहरु, कार्यालयले वन, वन्यजन्तु जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रम, जडिवुटी तथा गैरकाष्ट वन पैदावार विकास कार्यक्रम लगायतका कार्यक्रमका बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोईरालाले उपभोक्ताहरुलाई वन पैदावार सहज तरिकाले उपलब्ध गराउने गरी काम गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले स्थानीय तहको समन्वयमा सचेतनामूलक कार्यक्रम गाउँतहसम्म गरेर वन डढेलो नियन्त्रणमा लाग्नुपर्ने बताए । स्थानीय तह, प्रशासन, वन कार्यालय र स्थानीयबासीहरुबीच समन्वय गरेर वन अतिक्रमण  तथा डढेलो नियन्त्रण गर्नुपर्नेमा जोड दिँदै उनले विकास निर्माणको विषयमा व्यवहारिक बन्न वन कार्यालयलाई अनुरोध गरेका थिए । 

वनमा आगो लगाउने मानिसहरुको पहिचान गरी कडाभन्दा कडा सजाय दिनुपर्नेमा प्रमुख श्रेष्ठले जोड दिए ।

कार्यक्रममा भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापाले वन डढेलो नियन्त्रण गर्नका लागि सबै स्थानीयबासी, कर्मचारी, जनप्रतिनिधि एक जुट भएर लाग्नुपर्ने बताए ।

थापाले स्थानीय सरकारसँग बारुण यन्त्र खरिद गर्ने बजेट नहुँदा समस्या भएको सन्धिखर्क नगरपालिकामा मात्रै दमकल रहेको र सो दमकलले जिल्लाभर अग्नी नियन्त्रण गर्न सहयोग पुगेको बताए । 

कार्यक्रममा शीतगंगा नगरपालिकाका उपप्रमुख गिता भाटले सामुदायिक वनहरुले काठ दाउरा बिक्री गरेर समुहको खातामा करोडौं रुपैयाँ राख्ने तर जंगलमा आगलागी हुँदा नियन्त्रण गर्नका लागि दमकल  खरिद नगर्दा धेरै समस्या भएको उल्लेख गरिन् । 

कार्यक्रममा मालारानी  गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले  वनका पात पतिङ्गर संकलन गरेर जैविक मल बनाउने अवधारण स्थानीय सरकारले ल्याएमा  डढेलो कम गर्न सकिने बताए ।

कार्यक्रममा पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले गर्मी लागेपछि  समस्याका रुपमा देखिने वन डढेलो नियन्त्रणका लागि नयाँ सोच र योजनाका साथ गाउँपालिकाले विपद  व्यवस्थापनका लागि केही बजेट विनियोजन गरेकाले पानी बोक्ने ट्याक्टर खरिद गर्ने योजना भएको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले वन डढेलो नियन्त्रणका लागि सबै पालिकाहरुलाई जिम्मेवार बोध हुन आग्रह गरेका थिए । 

ADVenergy

ताजा खबर

सम्बन्धित खबर

Advertise