महोत्तरी : महोत्तरीका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपूर्जा वितरण गर्न निवेदन उपर जाँचबुझ थालिएको छ । आयोगमा परेको हजारौं निवेदन उपर छानबिन सुरु भएको भूमि समस्या समाधान आयोग महोत्तरीका अध्यक्ष पिताम्बर महतोले बताए ।
यसअघि ज्ञानबहादुर गोले अध्यक्ष रहेको आयोगमा १ हजार ६७४ भूमिहीन दलित, २ हजार २११ भूमिहिन सुकुम्बासी र ८ हजार २८२ अव्यवस्थित बसोबासीले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा माग गर्दै निवेदन दिएका थिए ।
वर्षौंदेखि बसोबास गर्दै आएका महोत्तरीका १२ हजार २८२ घरपरिवारले जग्गाधनीको लालपूर्जा माग गर्दै आयोग पुगेका थिए । त्यस मध्ये बर्दिबास नगरपालिका–२ बुद्धचोकका १५ भूमिहीन दलित र ३८ भूमिहीन सुकुम्बासी गरी ५३ घरपरिवारले जग्गाधनीको लालपूर्जा पाएको अध्यक्ष महतोले बताए ।
‘हामीले यस अघिका आयोगमा परेको उजुरी उपर छानविन गरेर प्रक्रिया पूरा भएका परिवारलाई लालपूर्जा दिन्छौं’, महतोले भने, ‘छिटफुट भएकाहरूलाई फेरि एकपटक आयोगको जिल्ला समितिले निवेदन आह्वान गर्ने तयारीमा छ ।’