राजनीतिक अस्थिरताको ब्यूहबाट मुलुक अहिले पनि बाहिर निस्कन सकेको छैन । बितेका ८ दशकमा जहानियाँ राणा शासन, निर्दलीय पञ्चायत र २४० वर्षे शाही राजतन्त्रको अन्त्य भयो । यी व्यवस्था अन्त्य गर्न एकपछि अर्को जनविद्रोह भयो । एक प्रकारले संस्थापनविरुद्ध लड्ने मनोविज्ञान निर्माण गर्नमै झण्डै शताब्दी बित्यो । त्यसैले मुलुक निर्माणबारे आमनिष्कर्ष भेटिँदैन बरु देश बर्बाद बनिरहेको भाष्य जबर्जस्त स्थापित छ । ‘देश बन्दैन’, ‘नेपालमा भविष्य सुरक्षित छैन’ जस्ता निष्कर्ष आमसहित बिदेसिनेहरूको संख्या डरलाग्दोगरी बढिरहेको छ । तथ्यांकहरूका अनुसार कुल जनसंख्याको १४ प्रतिशत अर्थात् ३५ लाख नेपाली विदेशमा छन् । यीमध्ये अधिकांश युवा छन् र रोजगारीका निम्ति बिदेसिएका हुन् ।
तर, सरकारको नेतृत्व गर्ने राजनीतिक दल र तिनका नेताहरू भने प्रचार गरिएजस्तो मुलुकको अवस्था नकारात्मक नरहेको दाबी गरिरहेका छन् । उनीहरूका अनुसार देशभित्र भविष्य सुरक्षित हुने थुप्रै आधार निर्माण भइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले त लगातार ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लगाइरहेका छन् । उनले देशमा समृद्धिको लहर आएको भाषण गर्न थालेको धेरै भइसक्यो । प्रधानमन्त्री ओलीको भाषणलाई सघाउन उनी नेतृत्वको दल नेकपा एमाले, प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित सत्तारूढ ७ दलका नेताहरू तल्लीन छन् । तर, विपक्षी नेताहरूले भने सरकारले देशमा सकारात्मक सन्देश दिनेगरी कुनै पनि काम गर्न नसकेको बताइरहेका छन् । विपक्षीको निष्कर्ष पनि स्वाभाविक हो ।
सत्ता समीकरण फेरिनासाथ अहिलेका सत्तारूढ पनि देश बर्बाद भइरहेको निष्कर्षमा पुगिहाल्छन् । साढे ६ महिना अगाडि ओली प्रधानमन्त्री बन्नु पहिले एमालेका नेताहरूले देशको अर्थतन्त्र नकारात्मक रहेको निष्कर्षसहित सार्वजनिक भाषण गरिरहेका थिए । तर, प्रचण्ड नेतृत्वको सरकार ढालेर नयाँ सत्ता समीकरण बन्नासाथ आफ्नै बोली फेरियो । अर्थात्, मुलुकको प्रमुख समस्या भनेकै राजनीतिक अस्थिरता हो । अस्थिर राजनीतिक प्रणालीका कारण नेताहरूले देशको वास्तविक अवस्थाबारे जनतालाई कहिल्यै बताएनन् । सधैं झुटो प्रचार गरे । आफूलाई अब्बल र अरूलाई खराब भनिरहे । समग्रमा देशको राजनीति खराब रहेको र मुलुक बर्बाद भइरहेको निष्कर्ष निस्कियो, जसले आमनागरिकको धारणा निर्माणमा बल पु्गेको छ । तसर्थ, देशभित्रै भविष्य रहेको मनोविज्ञान युवाहरूमा निर्माण गर्न राजनीतिक स्थिरता र विश्वासको बातावरण निर्माण गरिनुपर्छ । अरू सुधार क्रमशः हुँदै जाने छन् ।