काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरू वामपन्थी एकताको प्रक्रियातिर पुनः अघि बढिसकेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू लोकार्पणमा प्रचण्डले वामपन्थी एकता सफल पार्न आफ्नो-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनले बताए ।
नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरू गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने बेला भएको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले देशमा केही भएको छैन भन्ने भाष्य स्थापित गर्न खोजिएको भन्दै त्यसलाई चिर्नुपर्ने बताए । कम्युनिष्ट र सबै लोकतान्त्रिक शक्तिहरु एकताबद्ध भएर नकारात्मक भाष्यलाई चिर्नुपर्ने उनको जोड छ ।
क्रान्ति र परिवर्तनका उपलब्धिहरु संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार अहिले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जिकिर गर्दै उनले सरकारको यो प्रयासमा लोकतान्त्रिक र वाम शक्तिको साथ आवश्यक रहेको बताए ।