२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

प्रविधिमैत्री साहित्यिक पत्रकारिता आजको आवश्यकता : मन्त्री शर्मा

ADV
मध्यान्ह
२०८१ असार १४ गते १४:०६
प्रविधिमैत्री साहित्यिक पत्रकारिता आजको आवश्यकता : मन्त्री शर्मा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रविधिमैत्री साहित्यिक पत्रकारिता आजको आवश्यकता रहेको बताएकी छन् । नेपाल साहित्यिक पत्रकार संघको १८औं वार्षिकोत्सवका अवसरमा आयोजित साहित्यिक पत्रकारिता दिवस तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै मन्त्री शर्माले सो कुरा उल्लेख गेकी हुन् ।

मन्त्री शर्माले नेपाल साहित्यिक पत्रकार संघसँग सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहकार्य गर्ने उल्लेख गर्दै साहित्यिक पत्रकारका समस्यालाई समाधान गर्न आफूले सक्दो प्रयत्न गर्ने बताइन् ।

सो अवसरमा मन्त्री शर्माले वरिष्ठ स्रष्टा तथा साहित्यिक पत्रकार नारायणप्रसाद शर्मा, डा. तुलसी भट्टराई, निनु चापागाईं, डा.विष्णुविभु घिमिरे, डा.अमर गिरी, ईश्वरचन्द्र ज्ञवाली, प्रा. घनश्याम कँडेल, नरेन्द्रबहादुर श्रेष्ठ, नरनाथ लुइँटेल, प्रा.डा. कृष्णप्रसाद घिमिरे, लोकबहादुर थापा मगर, हरिगोविन्द लुइँटेल, कृष्ण प्रसाईं र सावित्री श्रेष्ठलगायत १४ जनालाई 'राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान' अर्पण गरिन् ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले मातृभाषा साहित्यिक पत्रकारिता क्षेत्रमा सरकारी सञ्चारमाध्यम समावेशी नदेखिनु दु:ख लाग्दो कुरा रहेको बताए । तर प्रज्ञा प्रतिष्ठानले साहित्यिक पत्रिका सहयोग कोष स्थापना गरी पुरस्कार र अनुदान प्रदान गर्दै आएको उनले उल्लेख गरे । साथै मातृभाषा साहित्यिक पत्रकारिताको उन्नायनमा समेत लागिपरेको बताउँदै उनले सरकारको ध्यानाकर्षण गराए ।

विशेष अतिथि नेपाल साहित्यिक पत्रकार संघका पूर्वकेन्द्रीय अध्यक्ष तथा सल्लाहकार रोचक घिमिरेले सरकारले साहित्यिक पत्रकारितालाई उपेक्षा गरेको र यसको विशिष्टता बुझ्न नसकेको बताए ।

सम्मानित व्यक्तित्व वरिष्ठ स्रष्टा तथा साहित्यिक पत्रकार निनु चापागाईंले इतिहासदेखि नै साहित्यिक पत्रकारिता साहित्यको मेरुदण्ड बनेर आएको बताए । तर राजकीय निकायहरूले यसलाई महत्व नदिनु दु:खद पक्ष रहेको उनको भनाइ थियो । यसैगरी अर्का सम्मानित व्यक्तित्व वरिष्ठ स्रष्टा साहित्यिक पत्रकार डा. तुलसी भट्टराईले साहित्यिक पत्रकारिताले पुर्‍याएको योगदानलाई कसैले पनि नजरअन्दाज गर्न नहुने बताए ।

अर्का सम्मानित व्यक्तित्व ईश्वरचन्द्र ज्ञवालीले साहित्यिक पत्रकारले जनयुद्वलगायतका विभिन्न अग्रगामी आन्दोलनको पक्षधरता देखाउँदै सांस्कृतिक रूपान्तरणमा समेत अहम भूमिका खेल्दै आएको बताए । त्यसकारण साहित्यिक पत्रकारिताको समाजमा विशेष भूमिका रहँदै आएकाले सरकारले विशेष प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

संघका केन्द्रीय अध्यक्ष मोहन दुवालले साहित्यिक पत्रकारिताको गरिमामय इतिहासबारे चर्चा गर्दै छापा तथा विद्युतीय पत्रपत्रिका अनेकौं समस्यासँग जुधिरहेको बताए । मातृभाषा साहित्यिक पत्रकारिताक‍ो प्रवर्द्धनका निम्ति संघ एकसाथ रहने बताए । उनले प्रस्तावित मिडिया काउन्सिल विधेयकमा साहित्यिक पत्रकारको प्रतिनिधित्वलाई सुनिश्चित गर्नसमेत माग गरे ।

संघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद पन्तले साहित्यिक पत्रकारिताका ज्वलन्त समस्याबारे चर्चा गर्दै स्वागत मनतव्य राखेका थिए । संघका केन्द्रीय कोषाध्यक्ष सूर्य लाकोजूले समग्र साहित्यिक पत्रकारिताका बारेमा नयाँ ढंगले सोच्नुपर्ने बताउँदै धन्यवाद ज्ञापन गरे । कार्यक्रमका उद्घोषक संघका केन्द्रीय महासचिव चेतनाथ धमलाले साहित्यिक पत्रकारिताका आयामहरू समयसँगै बदलिँदै गएकाले तिनलाई आत्मसात गरेर अघि बढ्नुको विकल्प नभएको बताए । जागरणकालमा रहेको मातृभाषा साहित्यिक पत्रकारिताको विकासमा सबैको चासो रहनुपर्ने उनको धारणा थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise