कपिलवस्तुः कपिलवस्तुमा बजार अनुगमनको क्रममा तीन व्यवसायीलाई जरिवानासहितकाे कारबाही गरिएकाे छ । सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तौलिहवा कपिलवस्तुबाट खटिएको बजार अनुगमन टोलीले अनुगमनका क्रममा उपभोक्ता हित विपरीत काम गर्ने पसल सञ्चालकलाई कारबाही गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी परमान्द घिमिरेको नेतृत्वमा खटिएको टोलीले शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र बुद्धभूमि नगरपालिकाका खाद्यान्न तथा किराना पसल, होटल तथा रेष्टुरेण्ट र मिठाई पसलमा छड्के अनुगमन गरको थियो ।
अनुगमनका क्रममा शिवराज नगरपालिका वडा नम्बर ५ मा रहेको शिवलाल बन्जाडे किराना पसलमा ४० वटा पर्मल चामल लेखेको बोरामा ब्याच नम्बर नभएको भटमास भेटिएकाले १० हजार जरिवाना लिइ कारबाही गरिएको हो । यस्तै कृष्णनगर ८ वहादुरगन्जमा रहेको पूजा मिष्ठान भण्डारले दर्ता कागजात बिना नै पसल संचालन गर्नुका साथै सरसफाई नगरेकाले १० हजार जरिवाना तोकेको घरेलु कार्यालय कपिलवस्तुका प्रमुख सन्तोष खनालले जानकारी दिए । साथै न्यु गौरव स्विट हाउसलाई पनि १० हजार जरिवाना तोकिएको उनले बताए । त्यस्तै बुद्धभूमि २ मा रहेको राज इन्टरप्राइजेजबाट लेवल नभएको २ हजार ३ सय बराबरको किसमिस जफत गरिएको हाे ।
अधिकांश होटल तथा मिठाई पसल दर्ता नभइ संचालन भएको र उत्पादकको नाम उल्लेख नभएको सामाग्री भेटिएको, मिठाई पसलको मिठाइमा झिंगा लागेको, मिठाइमा अत्याधिक रंगको प्रयोग गरेको भेटिएकाले सुधार गर्न निर्देशन दिएइको अधिकारी घिमिरेले जानकारी दिए ।
याेसँगै दर्ता बिना सञ्चालनमा रहेका होटल, किराना पसललाई एक हप्ताभित्र दर्ता गरी सञ्चालन गर्ने निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख सन्तोष खनालले बताए । अनुगमनका क्रममा व्यवसायीलाई मूल्यसूची प्रष्ट देखिने ठाउँमा राख्न, लेभलिङ भएका समान राख्न, सरसफाइ गर्न, ग्राहकलाई बिल दिन सुझाव पनि दिइएको थियो । अनुगमन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायक अधिकृत घिमिरे, प्रेम बहादुर रोकाहा, हिरामनी चौधरी, शिवराज नगरपालिकाका कर्मचारी र प्रहरीलयागतको टोलीले गरेको थियो ।