रौतहट : रौतहट गरुडा नगरपालिका वडा न. ४ का वडाध्यक्ष सुनिल जयसवालले आफूमाथि लागेको आरोप झुटो तथा कपोकल्पित भएको बताएका छन् ।
आफूले नियम कानुनको परिधिमा रहेर मात्र काम गर्ने गरेको उनले बताए ।
गरुडा नगरपालिका –४ मा जनता आवास कार्यक्रममा गरिब, विपन्न, परिवारको घर बनाउनको लागि आएको रकम दिन प्रत्येक परिवारसँग ५ हजारको दरले वडाध्यक्ष सुनिल जयसवालले रकम असुल गरेको भन्दै आएको समाचारको खण्डन गर्दै उनले भ्रामक समाचार फैलाइएको बताए ।
वडाध्यक्ष जयसवालले यस्तो घृणित कार्य नगरेको र आफूलाई राजनीति चरित्र हत्या गर्ने मनसायले केही विपक्षीले बदनाम गर्ने खोजेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताए ।
यो कार्यक्रम जनता आवासको नभइ संघीय सरकारको संसदीय कोषमार्फत सघन सहरी तथा भवन निर्माणको रहेको र छिटोभन्दा छिटो छनोट भएको घरधुरीलाई रकम उनीहरुको खातामा नै रकम उपलब्ध हुने वडाअध्यक्ष जयसवालल बताए ।
आफूले विगतका वर्षहरुमा जनताहरुको लागि आर्थिक सहयोग, विपद व्यवस्थापन, डीपीआर, कृषि, पिछडिएको वर्गलाई सहयोग गर्दै आएको उनले बताए ।
आफू निर्वाचित भएदेखि जनताको हकहितको लागि शिक्षा, स्वास्थ्य र शुद्ध खानेपानीमा विशेष ध्यान दिएको र सोही सरह काम गरिरहेको पनि उनले बताए । आफ्नो स्वार्थपूर्ति नहुँदा केही मिडियाहरुले आफूसहित वडा सचिवसमेत बदनाम गर्ने षड्यन्त्र रचेको उनले बताए ।