काठमाडौं : स्थानीय तहका प्रमुख आफैं सरकार प्रमुख हुन् । तर, संघीय सरकारमाथि स्थानीय सरकार र प्रदेश सरकारका प्रमुखहरू प्रश्न गरिरहेका हुन्छन् । अधिकार लिन होस् वा संघीय सरकारका कार्यमाथि खबरदारी गर्न प्रश्न गर्नेहरूमा एक हुन्– काठमाडौं महानगरपालिकाका प्रमुख मेयर बालेन्द्र शाह (बालेन) ।
मंगलबार उनले लुम्बिनी प्रदेश सांसद रेखा शर्माविरुद्ध सरकारी मुद्दा नचलाउने निर्णय भएको विषयलाई लिएर सामाजिक संजालमा आक्रोश पोखे । शर्मामाथि नाबालिकालाई घरेलु कामदार बनाई बालबालिकाविरुद्धको कसुर गरेको आरोप छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले यही १ माघमा सांसद रेखा शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालले सांसद शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय गरेका थिए । न्यायाधिवक्ता कटुवालले उक्त निर्णय २० माघमा उच्च सरकारी वकिलको कार्यालय पाटन पठाएका थिए, जसलाई सदर गरेर फेरि महान्यायाधिवक्ता कार्यालय पुर्याइएको छ ।
लुम्बिनी प्रदेशसभामा दाङबाट निर्वाचित सांसद शर्माले १४ वर्षीया बालिकालाई ८ वर्षदेखि घरेलु कामदारका रूपमा राख्दै आएको भनी उजुरी परेको थियो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मंगलबार तिनै घरेलु कामदारका रूपमा राखिएकी बालिकालाई सम्बोधन गर्दै उनीसँग माफी माग्दै संघीय सरकारमाथि प्रश्न गरेका हुन् ।
उनले लेखेका छन्, ‘सरी नानु, तिम्रा पीडकका विरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउने छ ।’
विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन नयाँ पुस्ताले समाज पढ्नुपर्ने पनि उनको आग्रह छ । अगाडि लेख्छन्, ‘...तिमी र तिमी जस्तै धेरै नानीबाबूले पढ्नपर्छ । समाज बुझ्नपर्छ ।’
सामाजिक संजाल विधेयकको विषयलाई लिएर समेत बालेनले संघीय सरकारको ध्यानाकर्षण गर्दै आएका छन् । सरकारले संसद्मा दर्ता गरेको सामाजिक संजाल विधेयक, २०८१ को विरोधस्वरूप उनले लेखेका छन्, ‘बोल्न दे सरकार !’
सरकारले सामाजिक संजालको संचालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्ने भन्दै विधेयकमा वाक् स्वतन्त्रता बञ्चित गरेकामा विरोध स्वरूप गीत पुनः शेयर गरेको उनको सचिवालयले जनाएको छ ।
स्थानीय तहको दोस्रो निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवारी दिँदा बालेनले गाएको ‘बलिदान’ एल्बमको गीत भाइरल भएको थियो । त्यतिबेला गीतको ‘गरिबको चमेलीको बोल्दिने कोही छैन ...’ भन्ने क्लिप धेरै भाइरल भएको थियो । उनले ‘बलिदान’ एल्बमकै अर्को क्लिप ‘मलाई बोल्न दे सरकार’ भनिएको क्लिप शेयर गरेर सामाजिक संजालसम्बन्धी विधेयकको विरोध गरेका हुन् ।
यसबाहेक पनि बालेनले सिंहदरबारलाई अनेक प्रश्न गर्दै आएका छन् । न्युरोडमा फुटपाथ विस्तार गर्ने विषयमा संघीय सरकारसँग आमनेसामने नै भएका थिए । काठमाडौंको सुकुम्वासी समस्या समाधानदेखि फोहोर व्यवस्थापनसम्ममा बालेन र संघीय सत्ताबीच वादविवाद चल्दै आएको छ ।
काठमाडौं महानगरभित्रका मापदण्डविपरीतका भौतिक संरचना हटाउन खोज्दा पनि मेयर बालेन र संघीय सरकार कतिपय ठाउँमा आमनेसामने भएका छन् ।