कालीकोट : कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले दोस्रो पञ्चवर्षीय नीति तथा योजना तयार गरे लगत्तै प्रदेशभरका स्थानीय तहमा निर्माणाधीन र सम्पन्न योजनाहरूको अनुगमन तीव्र पारेका छन् । उनले समृद्धि र विकासका सम्भावनाहरू पहिचान गर्दै विभिन्न सरोकारवालासँग सर्वपक्षीय समन्वयात्मक छलफल समेत गरेका छन् ।
हालै गृह जिल्ला कालीकोट पुगेका योगीले रास्कोट नगरपालिका, पचाल झरना गाउँपालिका, नरहरिनाथ गाउँपालिका हुँदै दैलेखका आठबिस नगरपालिकासहितका पालिकामा अनुगमन गरेका छन् । उनले योजना आयोगको सदस्य रहुन्जेल समुदाय तहका सम्बोधन हुन नसकेका जिल्लाका स्थानीय तह र नागरिकका आवश्यकताहरू सम्बोधन गर्न प्राथमिकता दिने बताए । अनुगमनका क्रममा योगीले प्रशासनिक सेवा, रास्कोट रणनीतिक अस्पताल, एम्बुलेन्स र स्कुल बसका लागि भारतीय दूतावासमार्फत पहल गर्ने जानकारी दिए ।
साथै, धार्मिक पर्यटन प्रवर्द्धनका लागि रास्कोट–सिमनाथ–देउरामालिका–बडिमालिका सडक निर्माणको आवश्यकताबारे पनि चर्चा गरे । शिक्षा, स्वास्थ्य, खानेपानी र सिँचाइ योजनामा सुधार गर्नुपर्ने बताउँदै उनले प्रदेश सरकार र संघीय सरकारसँग सहकार्य गरेर समाधान खोज्ने प्रतिबद्धता जनाए । दैलेखमा निर्माणाधीन १५ शय्या अस्पताल भवन अन्तिम चरणमा पुगेकोमा सन्तोष व्यक्त गर्दै योगीले अनुगमनका क्रममा स्थानीय सरकारका प्रतिनिधि, कर्मचारी, राजनीतिक दलका नेता र पत्रकारहरूसँगको छलफल सकारात्मक भएको समेत बताए ।
३० वर्ष लामो विकास र योजना निर्माणमा अनुभवी बहुक्षेत्रिय विज्ञता हासिल गरेका योगीले सुशासन, सामाजिक न्याय र समृद्ध कर्णालीको सोच लिएर वितरणमुखी पद्धतीको अन्त्य गरेर आयोजना बैंक निर्माण र आयोजना प्रस्ताव छनोट कार्यविधि बनाएर लागि परेको बताए ।
बस्तुनिष्ट यथार्थपरक आवश्यकता र प्राथमिकताका आयोजना तयार गर्न पालिका तहको अवस्था बुझ्न र प्रदेश राजधानी सुर्खेत र मन्त्रालयमा योजना माग्ने र योजना बिक्री गर्ने बेथिति अन्त्य गर्न कर्णाली प्रदेश सरकार र योजना आयोग लागि परेको उनले बताए । पूर्वाधार विकास, उत्पादन र रोजगारी, पर्यटन, धार्मिक पर्यटन, शिक्षा, स्वास्थ्य, सुशासन, सूचना प्रविधि, डिजिटल कर्णाली हरित अर्थतन्त्रको विकास र युवा रोजगारको माध्यमबाट तीन तहकै सरकारको सह–लगानी, विकास साझेदार र निजी क्षेत्रको साझेदारीका लागि एकीकृत बहुउद्देशीय र अन्तरसम्बन्धित अवधारणाका आधारमा कर्णाली विकास मोडेललाई अगाडि सारेर समुन्नत र समृद्ध कर्णालीको आधार तय गर्दे निराशालाई आशामा रूपान्तर गर्ने अधिकतम प्रयास गरिने उनले बताए ।