दोहा, कतार : गण्डकी प्रदेश समन्वय परिषद् कतारको चौथो अधिवेशन उद्घाटन र बन्द गरी दुई चरणमा सम्पन्न भएको छ । हाल कतारमा व्यवसायीका रूपमा स्थापित पर्वत जिल्ला फलेवास नगरपालिका वडा न ३ शंकर पोखरी निवासी नन्दलाल बिक (अजय)को नेतृत्वमा बन्द सत्रबाट नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रोशन अर्याल (स्याङ्जा), उपाध्यक्षमा कल्याण थापा (लमजुङ), अर्जुन संग्रौला (गोरखा) र महासचिवमा मन प्रसाद राना मगर (कास्की), कोषाध्यक्षमा मदन जी.सी. (बाग्लुङ) रहेका छन् । कार्यसमितिको पदेन सदस्यहरूमा बाबुराम भण्डारी (म्याग्दी), नीराजन गौतम (बाग्लुङ), सन्तोष क्षत्री (पर्वत), अग्निधर देवकोटा(कास्की), विनोद प्रसाद बर्सौला (लमजुङ), ओम गुरुङ (गोरखा), मीन राज वाग्ले (तनहुँ), घनश्याम अर्याल (स्याङ्जा) रहेका छन् । ४ जना कार्यसमिति सदस्यहरूलाई पूर्ण कार्यसमितिको बैठकले मनोनीत गर्नेछ । सर्वसम्मत चयन कार्यसमितिलाई निर्वाचन समितिका संयोजक राकेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
कतारको राष्ट्रिय खेलकुद दिवसको अवसर पारेर मंगलबार कतारको अलत्तियामा अवस्थित फूलबारी रेस्टुरेन्टमा सम्पन्न अधिवेशनको खुला सत्र परिषद्का का.वा. अध्यक्ष नन्दलाल विकको सभाध्यक्षता तथा गैरआवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) का उपमहासचिव प्रवीण गुरुङको प्रमुख आतिथ्य तामा खुला सत्र सम्पन्न भएको हो । अधिवेशनमा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गुरुङले गण्डकी प्रदेशको सुन्दरताका बारेमा मात्र नभई कार्यसमितिको गरेका कार्यसम्पादन र आयव्यय सुन्दा गौरव लागेको बताए । उनले संघसंस्थाका आफ्नै नीति नियम हुने हुँदा सोही अनुरूप कार्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै समाजमा मिलेर जानुको विकल्प नरहेको बताए ।
उद्घाटन सत्रमा सुधा परियारले स्वागत नृत्य पेस गरेकी थिइन् भने यामुना पटेलले थाली नृत्य पेस गरेकी थिइन् । बाबु कौसल, रेश्मी सेन्चुरी, सुरज खनालले सांगीतिक प्रस्तुति दिएका थिए भने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कतार शाखाका कलाकारहरूले भजन प्रस्तुत गरेका थिए । अधिवेशनमार्फत परिषद्का पूर्व पदेन सदस्यहरू, वर्तमान कार्यसमितिका सल्लाहकारहरू, संरक्षकहरू, एनआरएन एनसिसि कतारका अध्यक्ष रमेश भट्ट, प्रमुख अतिथि गुरुङ, २ बर्से कार्यकालमा सञ्चार मार्फत योगदान दिने पत्रकार, अधिवेशनमा साङ्गीतिक प्रस्तुति दिने कलाकारहरू सम्मानित भएका छन् ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष रमेश भट्ट सहित कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक व्यक्तित्व, पत्रकारसहित गण्डकीवासीहरूको बाक्लो उपस्थिति रहेको थियो । अधिवेशनमा साहित्यकार सिताराम थापाको पैसा नतिर्ने मेरो एउटा साथी छ भन्ने शीर्षकको कविताले सबैको मन जितेको थियो भने जीवन योग प्रयोगशाला कतारका प्रशिक्षक नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले योग साधना तथा व्यायामले शरीरमा रक्तसञ्चार र मानसिक रूपमा पुग्ने फाइदाहरूको बारेमा बताउँदै अभ्याससमेत गराएका थिए ।
परिषद्का महासचिव कल्याण थापाले उत्कृष्ट तरिकाले सहजीकरण गरेका कार्यक्रमको मध्यान्तरतिर नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले योग साधना तथा व्यायामले शरीरमा रक्तसञ्चार र मानसिक रूपमा पुग्ने फाइदाहरूको बारेमा बताउँदै उपस्थित अतिथि एवं दर्शकहरूलाई शारीरिक व्यायाम सम्बन्धित अभ्यास सम्म गराएका थिए । परिषद्को दुई वर्ष कार्यप्रगति महासचिव कल्याण थापाले पेस गरेका थिए भने कोषको आयव्यय कोषाध्यक्ष रोशन अर्यालले पेस गरेका थिए । खुला सत्रलाई महासचिव थापासहित सचिव अर्जुन संग्रौलाले सहजीकरण गरेका थिए भने उपाध्यक्ष पदम बहादुर रानाभाटले स्वागत मन्तव्य राखेका थिए । खुला सत्रको समापन गर्दै सभाध्यक्ष विकले गण्डकी प्रदेशको कार्यसमितिले उत्कृष्ट कार्यसम्पादन गरेको आफूले महसुस गरेको बताउँदै कार्यकाल सफल बनाउन सहयोग पुर्याउने सबैलाई आभार व्यक्त गरेका थिए ।