काठमाडौं : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले शिक्षा नीति बहसअन्तर्गत तरुण विमर्श गरेको छ । केन्द्रीय सदस्य नैनसिंह महर नेतृत्वको शिक्षा विभागले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच तरुणहरूसँग शिक्षा नीति बहस गरेको हो ।
कार्यक्रमकी प्रमुख अतिथि एवं सहमहामन्त्री डिना उपाध्यायले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि कांग्रेसले बहसलाई तीव्रता दिएको बताइन् । उनले शिक्षा विभागले बहसलाई तिव्रता दिनु निकै स्वागतयोग्य रहेको र यसमा पार्टीको पूर्ण साथ रहने प्रतिवद्धता जनाएकी छन् । ‘तरुणले शिक्षाका मुद्दा उठानमा विशेष जोड दिनुपर्छ । शिक्षा विभागले कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार शिक्षाका मुद्दा बोकिरहेको छ । यसमा पार्टीको पूर्ण साथ हुन्छ । शिक्षा विभागले बनाएको नीति पार्टीको महाधिवेशनबाट पारित गरेर नीति बनाउँछौं,’ उनले भनिन् ।
यस्तै शिक्षा विभाग प्रमुख महरले शिक्षालाई जीवनोपयोगी बनाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । ‘शिक्षालाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने खालको कसरी बनाउने ?, अध्यापन गराउने शिक्षकका सेवा सुविधाका बारेमा के गर्ने ?, व्यवस्थापन समिति र अभिभावकको जिम्मेवारी के हुने ?, राज्यले कति लगानी गर्ने? भनेर शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सरकार प्रस्ट हुनुपर्छ,’ उनले भने ।
निःशुल्क शिक्षाको संवैधानिक प्रावधान कार्यान्वयन गर्न कांग्रेस प्रतिबद्ध रहेको र सरकारलाई आफूहरूको यही दबाब हुने उनले प्रस्ट पारे । सबैबाट संकलित सुझाव सरकारलाई बुझाएर विधेयकमा समावेश गरिने उनले बताए । ‘शिक्षा क्षेत्रले नयाँ प्रगतिका आयाम खोजेको छ । ती आयाम छन् । नेपालमा कानुन नै नबन्नु दुखद विषय हो । हिउँदे अधिवेशनमा यसको हल खोजिनुपर्छ,’ उनले भने । उनले तरुणमा जोश हुने भएकाले वर्तमान समयका आवश्यकता बोक्दै राज्यलाई दबाब दिन चुक्न नहुने सुझाव दिएका छन् । युवाले शिक्षा र स्वास्थ्यका मुद्दा थप कसिलो रुपमा बोक्नुपर्ने उनको सुझाव छ ।
कार्यक्रममा शिक्षा समिति सदस्य एवं प्रतिनिधि सभा सदस्य लीलादेवी बोखिम, प्रदेश सांसद सीता खड्की र रामकुमार पहाडी, नेपाल तरुण दल केन्द्रीय समिति, विभिन्न जिल्लाका अध्यक्ष, नेपाल विद्यार्थी संघ, महिला संघलगायत कांग्रेसका विभिन्न भ्रातृ संस्थाका २५ जना प्रतिनिधिले आफ्ना सुझाव प्रस्तुत गरेका थिए ।