२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

नेपाली रेडियो नेटवर्कद्वारा एआई नीति जारी

Nada
२०८१ फागुन १ गते २०:१५
Shares
नेपाली रेडियो नेटवर्कद्वारा एआई नीति जारी

काठमाडौं : ‘नेपाली रेडियो नेटवर्क’ले ‘कृत्रिम बुद्धिमता(आर्टिफिसियल इन्टेलिजेन्स(एआई)‘ नीति जारी गरेको छ । ‘विश्व रेडियो दिवस‘को अवसरमा बिहीबार एक कार्यक्रमकाबीच उक्त नीति जारी गरिएको हो ।

ncell

एआईको सही, जिम्मेवार र विश्वसनीय प्रयोग गरी रेडियो सामग्री उत्पादनदेखि प्रसारणसम्मका कार्य गर्ने उद्देश्यले एआई नीति जारी गरिएको रेडियोका समाचार निर्देशक जीवन भण्डारीले जानकारी दिए ।

एआई नीतिमा एआईको प्रयोग गर्दा सही तरिकाले जिम्मेवार र विश्वसनीय हुनेगरी मात्रै गरिने, कुनै पनि रेडियो सामग्री संकलन, लेखन, निर्माण, सम्पादन र प्रकाशन वा प्रसारणमा एआईको उचित प्रयोग गरिने, एआईको प्रयोग भएमा त्यसको जानकारी गराइने, एआईको प्रयोगबाट कुनै गल्ती कमजोरी र हानी भएमा त्यसको जिम्मेवारी सञ्चारमाध्यम र पदाधिकारीहरूले नै लिइने, समाचार तथा कार्यक्रम र विज्ञापन उत्पादन तथा प्रसारणका सिलसिलामा एआईको प्रयोग गरेपनि अन्तिम निर्णय मानव पदाधिकारीबाट नै गरिने उल्लेख छ । 

त्यसैगरी एआईमार्फत सिर्जित सबै सामग्रीको पुनः परीक्षणपछि मात्रै प्रयोग गरिने, एआईको प्रयोगकै कारणले मानव शक्तिलाई विस्थापित नहुनेतर्फ भर मजदूर प्रयास गरिने, एआईको प्रयोगका लागि जनशक्तिलाई अभिमुखीकृत गर्दै सक्षम बनाइने, एआईको अभ्यासबाट प्राप्त तथ्य, तथ्यांक तथा सिर्जनाहरूको प्रतिलिपि अधिकार ख्याल गरिने, एआईको सहयोगमा तयार पारिएका सामग्रीबारे गुनासो लिने र सुनवाई गर्ने व्यवस्था गरिने व्यवस्था पनि नेपाली रेडियो नेटवर्कको नीतिमा लेखिएको छ ।

एआई नीति घोषणा कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालमा अन्य मिडियाहरूले एआई नीति जारी गरेको आफूलाई जानकारी नभएको उल्लेख गरे ।

नेपाली रेडियो नेटवर्कले एआई नीति जारी गरी सिंगो देशलाई नै एआईप्रति थप जिम्मेवार र जवाफदेही बन्न प्रेरित गरेको उनको भनाइ थियो । अध्यक्ष बस्नेतले एआई नीति सफल कार्यान्वायनको लागि आवश्यक सहजीकरण गर्ने र नेपालमा रहेका अन्य एआई प्रयोगकर्ताहरुलाई पनि यसतर्फ प्रेरित गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा ‘नेपाली रेडियो नेटवर्क‘का अध्यक्ष ऋषी धमलाले नीति पूर्ण रुपमा कार्यान्वायन गर्ने अठोट व्यक्त गरे । उनले नेपाली रेडियो नेटवर्क विश्वमा विकसित सूचना प्रविधिहरुको उचित सदुपयोग गरी आम श्रोतामा विश्वसनीय समाचार सम्प्रेषणमा अग्रसर रहेको बताए । उनले एआई जस्ता प्रविधिको प्रयोगले रेडियोहरूलाई थप प्रभावकारी बनाउने आशा व्यक्त गरे । 

नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक जीवन भण्डारीले विश्वभर बढ्दो सूचना प्रविधिको विकास र आयामलाई भरपुर सदुपयोग गर्नुपर्ने भएकाले एआई नीति जारी गरिएको जानकारी दिए । उनले रेडियो सामग्री संकलन, लेखन, निर्माण, सम्पादन र प्रकाशन वा प्रसारणमा एआईको उचित र जिम्मेवार तरिकाले प्रयोग गर्ने बताए ।

ताजा खबर

सम्बन्धित खबर