कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले भयमुक्त समाज निर्माणका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको बताएका छन् ।
कृष्णनगर नगरपालिका र ईलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त आयोजनामा भएको बृहत् समुदाय सुरक्षा सचेतना अभियान कार्यक्रममा नगरप्रमुख शाहले खुला सीमाना, सुरक्षा चुनौतीको विषय भएको उल्लेख गर्दै लागुऔषध दुव्र्यसनको घटनाहरूको अध्ययन आवश्यक रहेको बताए ।
समाजमा रहेका कुरीतिहरू हटाउन शिक्षाको माध्यमबाट विकास सम्भव रहेको भन्दै भयमुक्त समुदाय निर्माणका लागि सबैले आ–आफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टले सुरक्षा दिन प्रहरी सधैँ तयार रहने बताए ।
स्थानीय संघसंस्था, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा समुदायका अगुवासँग सहकार्य गरी सुरक्षा सचेतना अभिवृद्धि गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा प्रहरी निरीक्षक सुरज खत्रीले सुरक्षा सचेतना अभियानबारे जानकारी दिँदै, अपराध रोकथाम सबैको दायित्व रहेको बताए ।
साथै, गाउँ–गाउँमा गएर समुदायलाई सचेत पार्ने, अपराधका विभिन्न प्रकार र रोकथामका उपायबारे जनचेतना फैलाउने अभियानको लक्ष्य रहेको उनले बताए ।
होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिवा घिमिरेले होटल क्षेत्रमा सीसी टिभी जडान गरिएको र कुनै संदिग्ध व्यक्ति देखिएमा प्रहरीलाई खबर गर्ने प्रणाली अपनाइएको बताए ।
कार्यक्रममा नगर उपप्रमुख आरती देवी चौधरी, नि. प्रमुख प्रशासकीय अधिकृत शंकर भट्टराई, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्मा, नेकपा एमाले केन्द्रीय सदस्य सुशील श्रीवास्तव, महिला तथा बालबालिका शाखा प्रमुख थुमादेवी उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।