रौतहट : रौतहटको फतुवा बिजयपुर नगरपालिकामा २३ सय बढी किशोरीहरुले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाएका छन् ।
सरकारले माघ २२ गतेदेखि देशभर एचपीभी खोप अभियान सुरु गरेको छ ।
अभियानमार्फत फतुवा बिजयपुर नगरपालिकामा २ हजार ३ सय ९० किशोरीलाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख रमेश यादवले बताए ।
पालिका भरिका विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका २३ सय भन्दा बढी किशोरीलाई खोप लगाउने पालिकाको लक्ष्य रहेको थियो ।
एचपीभी खोप भनेको पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने खोप हो । यो क्यान्सर नेपाली महिलामा सबैभन्दा धेरै देखिएको छ । सबैभन्दा बढी मृत्युको कारक पनि यही क्यान्सर हो ।
औसतमा दैनिक ६ जनामा यो क्यान्सर पत्ता लाग्ने गरेको छ । यसमध्ये ४ जनाको मृत्यु हुने गरेको छ । यो अवस्थालाई निवारण गर्न खोप अपरिहार्य रहेकाले सरकारले एचपीभी खोप अभियान अघि सारेका हो ।