२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

जनसांस्कृतिक महासंघले गर्‍यो पूर्वअध्यक्षहरूलाई सम्मान

draupadi film
मध्यान्ह
२०८१ फागुन २ गते १३:०५
जनसांस्कृतिक महासंघले गर्‍यो पूर्वअध्यक्षहरूलाई सम्मान

काठमाडौंं : जनसांस्कृतिक महासंघ, नेपालले आफ्नो ४३औं स्थापना दिवस तथा ३०औं जनयुद्ध दिवस मनाएको छ । स्थापना दिवस तथा जनयुद्ध दिवसको अवसरमा महासंघले बिहीबार आफ्ना पूर्व अध्यक्षहरूको सम्मान, कृति विमोचन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । 

सो अवसरमा कार्यक्रमकी प्रमुख अतिथि नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री सत्या पहाडीले जनसांस्कृतिक महासंघका पूर्वअध्यक्षहरू ईश्वरचन्द्र ज्ञवाली, गणेश भण्डारी, सरल सहयात्री र मातृका पोखरेल लगायतलाई सम्मान गरिन् ।

कार्यक्रममा पहाडीले पार्टी र सांस्कृतिक मोर्चालाई जोड्नुपर्ने धारणा राख्दै जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गरी समाजवादको बाटोमा हिँड्न जनतालाई संगठित गर्नुपर्ने बताइन् ।

सो अवसरमा रोल्पा जिल्लाका विषयवस्तुमा आधारित संयुक्त कवितासंग्रह ‘कुइख्याङ’को विमोचन गरिएको थियो । उक्त संग्रहमा ५१ जना कविका कविता समेटिएका छन् । 

प्रगतिवादी साहित्यकार पारिजात संस्थापक अध्यक्ष रहेर २०३८सालमा जनसांस्कृतिक संघको स्थापना भएको थियो। यसपछि शक्ति लम्साल (अध्यक्ष- २०४१०, कृष्णसेन इच्छुक (अध्यक्ष-२०४६), मणि थापा (अध्यक्ष-२०६०) र डा. ऋषिराज बराल (संयोजक- २०६१), निनु चापागाईं (अध्यक्ष- इन्द्रेणी सांस्कृतिक समाज र प्रगतिशील सांस्कृतिक समाज), ईश्वरचन्द्र ज्ञवाली (२०६३), गणेश भण्डारी (२०७३), सीता शर्मा (कार्यवाहक अध्यक्ष- २०७३), सरल सहयात्री (२०७३) र मातृका पोखरेल (संयोजक- २०६९, अध्यक्ष- २०७८) थिए । 

No description available.

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, जनसांस्कृतिक महासंघका इन्चार्ज तथा पूर्वअध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले जनयुद्धको समयमा सांस्कृतिक प्लाटुन निर्माण गरी सांस्कृतिक अभियान सञ्चालन गरेको इतिहासको स्मरण गर्दै समाजवादी संस्कृतिको बाटोमा अग्रसर हुनुपर्नेमा जोड दिए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासंघका पूर्वअध्यक्ष मातृकाप्रसाद पोखरेलले पारिजात अध्यक्ष हुँदा संगठन छाडेर जाने व्यक्तिका बारेमा वैचारिक प्रतिवाद गरेको इतिहासको उजागर गर्दै सांस्कृतिक विचलनलाई गम्भीर समस्याका रूपमा चित्रण गरे ।

माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष तथा महासंघका पूर्वअध्यक्ष सरल सहयात्रीले सांस्कृतिक आन्दोलनलाई फराकिलो बनाउन विद्यालय, विभिन्न उत्पादन र श्रमका क्षेत्रसम्म विस्तार गर्नुपर्ने धारणा राखे ।

माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य तथा महासंघका पूर्वअध्यक्ष गणेश भण्डारीले समाजवादी संस्कृति निर्माणका लागि जनताका घरदैलोमा पुगेर सामूहिक संस्कृतिको आदर्शलाई स्थापित गर्नुपर्ने धारणा  प्रस्तुत गरे ।

कार्यक्रम जनसांस्कृतिक महासंघ, नेपालका केन्द्रीय अध्यक्ष भीम कुमाखीको अध्यक्षतामा सम्पन्न भएको हो । कुमाखीले कार्यक्रम  समापन भएको घोषणा गर्दै अब समाजवादी संस्कृति निर्माणमा एकजुट भएर लाग्नुपर्ने बताए । उनले पूर्वअध्यक्षहरूको सम्मान भनेको इतिहासको सम्मान रहेको धारणा राखे ।

महासंघका सचिवालय सदस्य तथा अखिल नेपाल लेखक संघका केन्द्रीय अध्यक्ष स्वप्निल स्मृतिले विमोचित कवितासंग्रह कुइख्याङ’को चिरफार गर्दै कविताले रोल्पा जिल्लाको यथार्थ तस्बिर उतारेको बताए ।

महासंघका केन्द्रीय उपाध्यक्ष डम्बर रोकायाले कार्यक्रममा स्वागत मन्तव्य राख्दै अग्रजहरूको सम्मान गर्नु नै इतिहासको स्मरण गर्नु रहेको बताए ।

महासंघका केन्द्रीय महासचिव केशव सिलवालले कार्यक्रम सञ्चालन गर्दै महासंघको इतिहास, योगदान र सम्मानित व्यक्तित्वका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमको प्रारम्भमा पेरिसडाँडामा रहेक‍ो सहिद तथा बेपत्ता योद्धा स्मृति स्तम्भमा अबिर तथा माला अर्पण गरिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise