संविधानको सर्वोच्चता र विधिको शासन भएको मुलुकमा न्यायालय महत्वपूर्ण अंग हुन् । कार्यकारिणी र व्यावस्थापिकाले गर्ने गल्ती कमजोरी सच्याउँदै राज्यमा न्याय स्थापना गर्ने र संविधानको रक्षा गर्ने दायित्व न्यायालयको हो । तर, पत्नी हत्याको दोषी ठहरिएका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद सजाय दुई तिहाइ घटाउने फैसलाले न्यायालयमाथि गम्भीर प्रश्न उठेको छ ।
जिल्ला अदालत काठमाडौं र पुनरावेदन अदालतले सर्वश्व सहित जन्मकैदको फैसला सुनुवाइएका कोइरालालाई सर्वोच्चका प्रधानन्यायाधीश आफैं सामेल इजलासलले सजाय घटाइदियो । सजाय घटाउने फैसला असार १५ गते भयो । लकडाउनका कारण अदालतले नियमित कार्यसूचीमा फर्कन सकिरहेको थिएन । पुरा मुलुकको ध्यान कोभिड महामारी रोकथाम र नियन्त्रण तर्फ केन्द्रीत भएका बेला सर्वोच्चले गरेको फैसला धेरैलाई थाहा नै हुन सकेन ।
कोइरालाको कैद सजाय घटाएर जेलमुक्त भएपछि मात्रै धेरैले यसबारे जानकारी पाएका थिए । अर्थात्, पूर्व डीआईजी कोइराला आठ वर्ष ६ महिना सजाय भुक्तान गरी साउन ८ गते जेलमुक्त भएका छन् । तर, त्यसै दिन महान्याधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि रीट दायर गरेको थियो । आइतबार उक्त रीटमाथि सुनुवाइ गर्दै सर्वोच्चले फैसला पुनरावलोकन गर्ने निर्णय लिएको छ । पुनरावलोकन गर्ने निर्णयले सर्वोच्च प्रति उठेको आक्रोशलाई केही मत्थर बनाएको छ । पुनरावलोकन हुनु अगाडि जनताको तहमै सर्वोच्च अदालतको फैसलाको कडा असन्तुष्टि जनाइएका थिए । कतिसम्म भने यस्तो फैसला गर्ने प्रधानन्यायाधीशको राजीनामा वा महाअभियोगको माग सहित सडक प्रदर्शन समेत भएको थियो ।
जनतहमा न्यायालयप्रति प्रश्न उठेपछि सोमबार सर्वोच्च अदालतले न्याय सम्पादनका क्रममा भएका कमजोरी सर्वोच्चले नै सच्याउने बक्तव्य जारी गरेको छ । सर्वोच्चले न्याय सम्पादनका क्रममा भएका कमजोरी सच्याउने प्रतिबद्धता सहित बक्तव्य आउनुले केही सकारात्मक सन्देश भने दिएको छ । यसले दिने सन्देश भनेको न्याय सम्पादनका क्रममा संवेदनशीलतालाई गाम्भिर्यताका साथ हेरिनुपर्छ । हामीले माथि नै भनिसकेका छौं– सामाजिक न्याय प्रत्याभूत गराउने र संविधानको संरक्षण गराउने कार्य न्यायालयको प्राथमिकता कार्य हुन् । त्यसका लागि आम स्वीकार्यता जरुरी हुन्छ । यदि, जनविश्वास गुम्न पुग्यो भने ऐनका अक्षरले मात्रै न्याय दिलाउन असंभव हुन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies