रौतहट : रौतहटको राजदेवी नगरपालिका वडा नं १ मा रहेको श्री माध्यमिक विद्यालय पथरामा विद्यालय प्रशासन तथा ठेकेदारको मिलोमतोमा रकम हिनामिना गरेको आरोप लागेको छ ।
आम्दानीको श्रोतको रुपमा रहेको तीन वटा पोखरीको पहिला ठेक्का लिएको ठेकेदार गरुडा न.पा वडा नं ८ का ठागा सहनीले २०७३ सालमा १६ लाख रुपैयाँमा लिएको ठेक्का समय अवधि समाप्त भए पश्चात् पुनः १ वर्षको लागि थप गरिएको थियो ।
तर एक वर्षको लागि ५ लाखमा लिएको ठेक्काको रकम जम्मा नगरेको विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले बताएका छन् । पोखरीको ठेक्का रकम हिनामिना गरेको सहनीले बिना कुनै प्रमाण सम्झौता करिब डेढ वर्षदेखि बल जबरजस्ती पोखरी भोग चलन गर्दै आएका स्थानीय शिवमंगल यादवले बताए ।
थप १ वर्षको लागि पाँच लाख रुपैयाँमात्र दिएको तर त्यसको ठेक्का प्रमाण निज सहनीले नदेखाइ रौतहट दुर्गा भगवती गा.पा २ निवासी दिनेश सहनी भन्ने भोला सहनीले सफाइ पत्र देखाउँदै आएका छन् ।
यता यसको कागजात विद्यालय प्रशासनसँग नभएको र रकम पनि ठेकेदारले विद्यालयको खातामा जम्मा गरेका छैनन् । विद्यालय प्रशासनले पटक–पटक भोला सहनीलाई पत्रमार्फत बैंकमा रकम जम्मा गरेको भौचरको प्रतिलिपि विद्यालय प्रशासनमा बुझाउन अनुरोध गरेको थियो ।
३ पटकसम्म अनुरोध गरेपनि ठेकेदारले सफाइ पत्र अनुसार एउटा पनि बैंक भौचरको प्रतिलिपी बुझाएका छैनन् । तर अन्तमा प्रमाणको नाममा ठेकदार दिनेश सहनी भन्ने भोला सहनीले पूर्व प्र.अ.द्वारा हस्ताक्षरित च.न. ९४ को लेटर प्याड प्रयोग गरी ठेकेदारलाई दिएको सफाइपत्र विद्यालय प्रशासनलाई बुझाएका थिए ।
तर सफाइपत्रमा २१ लाख पाँच हजार विद्यालयको खातामा नरहेको, विद्यालय प्रशासन तथा राजदेवी नगरपालिकाले प्रमाणित गरेर दिएको, त्यसको ठेक्का पहिला नै समाप्त भएको र त्यो ठेकेदारले ठेक्का अनुसार रकम पनि बैंक खातामा जम्मा नगरेको बुझिएको छ ।
अहिले फेरि करिब एक वर्ष ६ महिनादेखि त्यही ठेकेदार सहनीले भोगचलन गर्दै आएको तर त्यसको कागजात विद्यालय प्रशासनसँग नरहेको प्रमाणित प्रतिलिपिबाट देखिन्छ । विद्यालय प्रशासनसँग कागजात छैन । आजसम्म ठेकेदारलाई कारबाही पनि भएको छैन ।
ठेकेदारले विद्यालय प्रशासनको मिलोमतोमा विद्यालयको आम्दानी स्रोतको रूपमा रहेको पोखरी भोग चलन गर्न दिएको आरोप लागेको छ ।
स्थानीयले यो पोखरीलाई रोक्का गरी विद्यालय प्रशासन तथा ठेकेदारलाई उचित कारबाहीको लागि सम्बन्धित निकायसँग माग गरेका छन् । सम्बन्धित निकायले निकास नखोजे संघर्षका कार्यक्रम गर्ने स्थानीय शिवमंगल यादवले चेतावनी दिएका छन् ।