मेनका चौधरी/मध्यान्ह
गुलरिया : वन्यजन्तु पीडित भएर पनि तीन वर्षदेखि राहत नपाएका बर्दियाका ८९ जनालाई राहत वितरण गरिएको छ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवारले ३८ लाख ८३ हजार ९६७ रुपैयाँ राहत वितरण गरेका हुन् । मधुवन नगरपालिकाका नगरप्रमुख टेजबहादुर भाट लगायतको टोलीले कार्यक्रम बिथाल्न खोजेका थिए ।
लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेका अनुसार २०८० को वन ऐन अनुसार कार्यविधि निर्देशिका अनुसार राहत वितरण गरिएको हो ।
डिभिजन वन कार्यालय बर्दियाका सिनियर डिभिजन वन अधिकृत विजयराज सुवेदीका अनुसार बर्दियामा वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण कार्यक्रममा तीन वर्षदेखि हुन नसकेको कार्यक्रम आइतबार वितरण गर्न सफल भएको बताए ।
वन्यजन्तुबाट मृत्यु भएका राजापुर नगरपालिका वडा नम्बर १० का कान्छा थारुको श्रीमती महगी थारुले १० लाख राहत पाएकोमा खुसी भएको बताइन् ।
त्यसैगरी घाइते बारबर्दिया नगरपालिका वडा नम्बर ९ धकैलाकी सर्मिला चौधरीले ६ हजार रुपैयाँ राहत पाएकी छन् । वन्यजन्तुबाट मृत्यु र घाइते हुनेमा ११ जनाले राहत पाएका छन् ।