काठमाडौं : निर्माण, कृषि र प्लान्टेसन गरी प्रमुख तीन क्षेत्रमा मात्र विदेशी कामदार प्रयोग गर्न पाउने सरकारको निर्णयले आफुहरुलाई गम्भीर असर परेको भन्दै मलेसियाको अन्य क्षेत्रका रोजगादाताहरुले सो निर्णयको विरोध शुरु गरेका छन् । मलेसियन इम्प्लाएर फेरडरेसन (एमइएफ) तथा स्मल एण्ड मिडियम ईन्टरप्राइजेज एसोसिएसनले विदेशी कामदारलाई रोजगारीमा लगाउन रोक्ने निर्णय लिनु अगाडि मलेसिया सरकारले आफुहरुसँग छलफल नगरेको भन्दै तोकिएका तीन क्षेत्रबाहेक अन्य क्षेत्र विदेशी कामदाहरुको अभावमा नराम्रोसँग प्रभावित भएको बताएका छन् ।
एमइएफका कार्यकारी निर्देशक सम्सुद्धिन बरदानले मलेसियामा वैधानिक हैसियतका २० लाख कामदार रहेको भन्दै त्यसमध्ये ८ लाख ३७ हजार ८ सयले मात्र कृषि, निर्माण र प्लान्टेसनको क्षेत्रमा काम पाउने बताए । मलेसियाको उत्पादन क्षेत्रमा ७ लाख, सेवा क्षेत्रमा ३ लाख ९ हजार र घरेलु सहायकको क्षेत्रमा काम गर्ने १ लाख ३० हजार विदेशी कामदार रहेको उनले जानकारी दिएका छन् ।
विदेशी कामदार प्रयोग गर्न नपाए अन्य क्षेत्र सञ्चालनमा कठिनाइ हुने उनको भनाइ छ । पहिले मलेसियन नागरिकले अत्यत्नै जोखिमपूर्ण मानिने ‘डर्टी’, ‘डिफिकल्ट’ र ‘डेन्जरस’ काम गर्न शुरु गर्नुपर्ने, त्यसपछि मात्र विदेशी कामदार नल्याऊ भन्न मिल्ने रोजगारदाताहरुको भनाइ छ ।
यसअघि मलेसियाको प्रमुख शहरहरुका मजदुरहरुले विदेशीले न्यूनतम १२ सय रिंगिटमा गर्ने काम गर्न आफुहरुलाई कम्तीमा २७ सय रिंगिट दिइनुपर्ने आवाज उठाएका थिए । हाल स्थानीय रोजगारदाताहरुलाई मलेसियन नागरिकले रोजगारीमा भर्ना नपाएको प्रमाण पु¥याएमात्र विदेशी कामदार भर्ना गर्न पाउने व्यवस्था गरिएको छ । विदेशी कामदारले काम गरिरहेको कोटामा काम गर्न स्थानीय नआएसम्म विदेशीलाई रोक्न नहुने रोजगारुदाताहरुको माग छ ।
स्मल एण्ड मिडियम इन्टरप्राइजेजका सचिव योह सेड होईले विदेशी कामदारहरुले मलेसियाको व्यापारमा योगदान दिइरहेको र उनीहरु आगामी दिनमा पनि आवश्यक हुने बताउँदै मलेसियाको प्रमुख प्रशासनिक निकाय पुत्रालयले तीन क्षेत्रबाहेक अन्य क्षेत्रमा विदेशी कामदार पूर्णरुपमा रोक्ने निर्णय परिमार्जन गर्न जरुरी रहेको बताए ।
मलेसियन रोजगारदाताहरुले सरकारलाई विदेशी कामदार भर्नाका लागि छिमेकी सिंगापुरले अपनाएको मोडल अपनाउन पनि सुझाव दिएका छन् । सिंगापरले एउटा कम्पनीमा ६० प्रतिशत स्वदेशी र ४० प्रतिशत विदेशी कामदारलाई रोजगारीमा लगाउने गरेको छ । मलेसियाको रोजगार ऐनले स्थानीय कामदारहरुलाई अतिसुरक्षा प्रदान गरेका कारण पनि समस्या रहेको बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies