काठमाडौं : भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् एक जना नेपाली विद्यार्थी होस्टलमा मृत अवस्थामा भेटिएकी छन् ।
भुवनेश्वरको पाटिया क्षेत्रमा रहेको उक्त होस्टलमा नेपाली विद्यार्थीको शव शंकास्पद अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी हुन् ।
उनको मृत्युको कारण खुल्न नसके पनि सोही विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङको तेस्रो वर्षमा अध्ययनरत एक पुरुष साथीले दुर्व्यवहार गरेपछि उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
यतिबेला सामाजिक सञ्जालमा एक थ्रेड भाइरल भइरहेको छ । जसमा प्रकृतिले ती पुरुषबाट अति नै दुर्व्यवहारको सामना गर्नुपरेको र उनले यो कुरा गत महिना विश्वविद्यालयको इन्टरनल रिलेसन्स अफिस (आईआरओ) मा पनि रिपोर्ट गरेको दाबी गरिएको छ ।
उनले रिपोर्ट गरे पनि कलेज प्रशासनबाट कुनै पनि सहयोग प्राप्त नभएको बताइएको छ ।
घटनापछि आक्रोशित त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू विरोधका लागि सडकमा उत्रिएका छन् । उनीहरूले विश्वविद्यालय अगाडि प्रदर्शन गर्दै लम्सालका लागि न्यायको माग गरेका छन् ।