काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा भएको नेपाली छात्राको मृत्यु र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको विषयमा कूटनीतिक पहल भइरहेको जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै सो कुरा मिडिया र सामाजिक सञ्जालमार्फत आफूले जानकारी पाएको र यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको बताएका छन् ।
उनले लेखेका छन्, ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’
कलेजको होस्टलमा बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा फेला परेकी थिइन् । सोही घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका गरेका थिए । प्रदर्शन गरेकोमा आपत्ति जनाउँदै कलेज प्रशासनले नेपाली विद्यार्थीलाई कलेजबाट निकालेको थियो ।