काठमाडौं : पहिलो नेपाली चलचित्र ‘आमा’देखि अहिलेसम्मको अवस्थामा आइपुग्दा यो क्षेत्रमा धेरैको पसिना सिंचन भएको छ । यस्तैमा विगत लामो समयदेखि यो क्षेत्रमा आफ्ना क्रियशनहरु पस्किरहेका छन्, चेतनाथ दंगालले । राजधानीको नजिकै रहेको जिल्ला काभ्रेपलाञ्चोकको तत्कालिन होक्से–३ मा बुबा पदमप्रसाद दंगाल र चित्रमायाको कान्छो पुत्र रत्नका रुपमा जन्मिएका चेतनाथ यतिवेला नेपाली कला क्षेत्रमा अग्रपंक्तिमा रहेका आफ्ना क्रियशनहरु पस्किरहेका छन् ।
बाल्यकालदेखि नै कलाक्षेत्रमा रुची राख्ने चेतनाथ चलचित्र भनेपछि हुरुक्कै हुन्थे । सानैदेखि अत्यधिक चलचित्र हेर्न रुचाउने उनी उच्च शिक्षाका लागि काठमाडौं आएसँगै यो क्षेत्रमा विस्तारै विस्तारै हेलिँदै गए । सानैदेखिको उनको अन्तरआत्मामा रहेको यो क्षेत्रको लगावले उनलाई यस क्षेत्रमा तान्दै लग्यो र चुम्न सफल भएका छन्, आजका दिनहरु ।
हरेक विषयको गहिराइमा पुग्ने, चुनौती मोल्ने र त्यसको सामना गर्ने चेतनाथको बाल्यकालदेखिको स्वभावले नै जस्तोसुकै चुनौतीको सामना गर्दै आजको अवस्थामा उनले सफलता प्राप्त गरेका हुन् । सुरुमा कनिष्ठ सहायक निर्देशक भूमिकाबाट यस क्षेत्रमा आएका उनी मुख्य निर्देशक हुँदै निर्देशकमा हात हालेका हुन् । यतिवेला उनी नेपाली रंगमञ्चमा कुशल निर्देशकका रुपमा स्थापित छन् ।
उनका निर्देशनमा ‘बादशाह’, ‘अन्योल भविष्य’, ‘हृदयघात’, ‘हाम्रो योद्धा’, ‘दानव’ ‘कुरबान’, ‘शुसेली’, ‘अधुरो सपना’, ‘लावारिस’, ‘युद्ध’ ‘दौडान’ लगायतका चलचित्रमार्फत दर्शकको वाही वाही बटुल्न सफल भएका छन् । उनले निर्देशन गरेका प्रायः चलचित्रले व्यवसायिक सफलता प्राप्त गरेका छन् । उनी निर्देशित चलचित्र ‘निम्तो’ यतिवेला पोष्ट प्रोडक्सनमा रहेको छ । अर्को नयाँ चलचित्रको तयारीमा पनि रहेका उनी कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी संक्रमणका कारण केही ढिला भएको बताउँछन् ।
सन् २०१७ देखि निरन्तर २ वर्ष एनटिभीबाट आएको टेलिफिल्म ‘सोह्र दुने आठ’का निर्माता तथा निर्देशक पनि उनी नै हुन् । यो सार्वधिक लोकप्रिय टेलिफिल्म रहेको थियो । उनले ५० भन्दा बढी म्युजिक भिडियोमा पनि निर्देशन गरिसकेका छन् ।
निर्देशन गरेका कर्मले सफलता पाउँदै जाँदा थुप्रै अवार्ड, पुरस्कार र सम्मान पनि प्राप्त गरेका छन्, चेतनाथले । उनले नेफ्टा अवार्डमा बेष्ट निर्देशक, बक्स अफिस अवार्ड, राष्ट्रिय चलचित्र अवार्डलगायत थुप्रै सम्मान पुरस्कार प्राप्त गरेका छन् । उनी यतिवेला नेपाली सिने नगरीको मंहगो निर्देशकका रुपमा स्थापित छन् ।
यो क्षेत्रका विभिन्न संघ संस्थामा आवद्ध भई यसको क्षेत्रको श्रृविद्धीमा लागेका उनी चलचित्र संरक्षण मञ्च, चलचित्र निर्देशक समाजको मानार्थ सदस्य रहेका छन् । उनी डीसीने अवार्ड, सूर्य इन्टरनेशनल अवार्ड जस्ता चलचित्रका समबन्धि प्रतिष्ठित अवार्डको निर्णयकको रुपमा पनि रहेका छन् । उनी व्युटी प्याजेन्नटको निर्णयकमा पनि रहेका छन् । राजधानी कला केन्द्रको प्रशिक्षक रहेर धरैलाई प्रशिक्षण समेत प्रदान गर्दै आएका उनी कान्तिपुर फिल्म एकेडमीको बोर्ड सदस्य, नेपाली सिने समुहको कार्यकारी निर्देशकसमेत रहेर कार्य गर्दै आएका छन् । त्यस्तै उनी दोलखा फिल्मस् प्रा.लि.को प्रवन्ध निर्देशक पनि हुन् ।
‘चलचित्रको क्याप्टेन भनेको निर्देशक हो, कथावस्तु छनोट गर्ने अधिकार निर्देशकको हुन्छ । चलचित्र निर्माताको एकखालको भिजन आउन सक्छ । तर, त्यसको डिसिजन निर्देशकको हातमा हुन्छ । त्यसैले सबैभन्दा धेरै जिम्मेवारी निर्देशककै हुन्छ, निर्देशकको हातमा हुन्छ कस्तो चलचित्र बन्ने’, भन्ने चेतनाथ निर्देशन भन्ने बित्तिकै एकदमै गाह्रो क्षेत्र हो भन्छन् । उनी भन्छन्, ‘किनभने सामाजिक र राष्ट्रप्रतिको जिम्मेवारी निर्देशकको काँधमा आएको हुन्छ । मैले निर्माण गरेको चलचित्रबाट दर्शकलाई कस्तो प्रभाव पर्छ भन्ने बुझ्नुपर्ने हुन्छ । चलचित्र सामाजिक दायित्व बोकेको पाटो भएकोले त्यसलाई निर्देशन गर्ने कम सजिलो छैन ।’
पछिल्लो समय सामाजिक चलचित्रका दर्शक धेरै रहेको बताउने चेतनाथ आफ्नोपन, आफू सुहाउँदो सामाजिक कथाबस्तुमा आधारित चलचित्र दिन सक्नुपर्ने बताउँछन् । यथार्थ बोकेको चलचित्रलाई दर्शकले धेरै मन पराउने उनको भनाइ छ ।
नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्छ भन्ने चेतनाथ समय सधैं एकनासको नहुने र परिवर्तनशिल रहेको बताउँछन् । उनी भन्छन्, ‘समयको माग अनुसार जो कोही पनि चल्नुपर्छ । नेपाली चलचित्र सवल, सक्षम र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुग्नु जो कोही नेपाली चलचित्रकर्मीका लागि गर्वको कुरा हो ।’
नेपाली सिनेमा क्षेत्रमा सकृय रहेर अमूल्य योगदान पु¥याएका उनी सामाजिक कार्यमा पनि त्यतिकै सक्रिय छन् । वि.सं. २०७२ वैशाखमा देशमा आएको विनशकारी भूकम्पमा आहत भएका धेरैलाई राहत पु¥याएर सहयोग गरेका चेतनाथ विभिन्न विपद्का बेलामा सक्रिय रुपमा सहयोग पु¥याउन जुट्छन् । कोरोना भाइरस संक्रमणलाई नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले गरेको लामो ‘लकडाउन’का बेला अप्ठायारोमा परेकालाई पनि सहयोग गर्न उनी राहत लिएर विभिन्न ठाउँ पुगे ।
नेपाली कला क्षेत्रको समृद्धिमा इटा थप्दै आएका चेतनाथ यस क्षेत्रमा आउने नयाँ कलाकारलाई प्रशिक्षण पनि दिइरहेका छन् । उनी यो क्षेत्रमा आउन चाहने नयाँ कालाकारलाई रहरले मात्र नभएर आफू यही क्षेत्रमा केही गर्नसक्छु भन्ने भएमा पढेर र बुझेर आउन सल्लाह दिन्छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies