२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

सामुदायिक वनमा गरिएको चियाखेतीले फेरियो दैनिकी

Nada
२०८१ फागुन ५ गते २१:५९
Shares
सामुदायिक वनमा गरिएको चियाखेतीले फेरियो दैनिकी

अर्घाखाँची : अर्घाखाँचीको भूमीकास्थान नगरपालिका–१०, सेङलेङको  लालीगुराँस देउराली सामुदायिक वनमा व्यवसायिक चियाखेती सुरु गरिएको छ । बनमाराले अन्य जडिबुटी तथा घाँस समेत सखाप बनाइदिएपछि बनमारा हटाएर सो ठाउँमा गत वर्षदेखि  चिया खेती सुरु गरिएको थियोे  । 

ncell

अर्घाखाँचीमै पहिलो पटक सेङलेङमा व्यवसायिक चियाखेती राम्रो हुन थालेपछि अहिले त्यहाँका स्थानीय  महिलादेखि पाका पुस्तासम्मको दैनिकी चियाखेतीले फेरिएको छ ।

भूमिकास्थान नगरपालिकाको समन्वयमा  सामुदायिक वनको २१ र निजीतर्फ १७ गरी ३८ रोपनी क्षेत्रफल लगाइएको ३२ हजार चियाका बिरुवाको  रेखदेख गर्न सामुदायिक वनका उपभोक्ताहरु लागि परेको  देउराली सामुदायिक वनका अध्यक्ष गीरबहादुर नेपालीले  बताए । प्राकृतिक रुपमा मनमोहक वातावरण रहेको उक्त स्थानमा चियाको बगान तयार  हुन थालेपछि पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको भूमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले बताए  ।

२ वर्ष अघिदेखि सुरु भएको कर्मशिल जनशक्ति परिचालनमार्फत बाँझो जग्गामा व्यवसायिक कृषि, मकैको पोष्कर र थाकलको पातबाट निर्माण हुने टोपी, झोला र विद्यालयमा पढ्दै कमाउँदै रमाउँदै कार्यक्रमले हरेक नगरबासीलाई नैतिकवान र कर्मशिल बनाउँदै लग्ने नगरप्रमुख  झबिलाल  थापाले बताए । 

स्थानीयको जागरुकता र सामुहिक एकता देख्दा अर्घाखाँचीमै पहिलो चिया पकेट कार्यक्रमको रुपमा सेङलेङमा चिया खेती सफल भएको  भूमीकास्थानका नगरउपप्रमुख  बालकृष्ण बन्जाडेले बताए । 

‘वनमारा हटाएर चिया खेती लगाएका छौं,’ सेङलेङ होमस्टेका अध्यक्ष हिमनाथ खनालले भने, ‘यसलाई प्रवर्द्धन गर्दै पर्यटकलाई आकर्षण गर्नेगरी बगान बनाउने सोचमा छौं ।’

चैते दशैंमा सराँय नाँचसहितको मेला लाग्ने बराहदेवीको मन्दिर, सेङलेङ दह, पाथिभरा मन्दिर, सेङलेङ दह, चौर, नजिकै रहेको मसिनाको लेक, मृगस्थलीझरना, सिद्धगुफा पर्यटकीय आकर्षणको रुपमा रहँदै आएका छन् भने अब बन्ने चिया बगान पनि पर्यटकीय रोजाइमा पर्ने आँकलन गरिएको स्थानीय बिष्णुले बताए । 

सम्बन्धित खबर