२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

उडिसा नेपाली विद्यार्थी मृत्यु प्रकरण : घटना रहस्यमय, ढाकछोपको प्रयास

hardik ivf
निमिष झा
२०८१ फागुन ६ गते ०६:३५
उडिसा नेपाली विद्यार्थी मृत्यु प्रकरण : घटना रहस्यमय, ढाकछोपको प्रयास

काठमाडौं : बुटबल घर भएका सुनिल लम्साल सोमबार बिहान सधैंझैं काठमाडौंमा रहेको आफ्नो मसला उद्योगमा व्यस्त थिए । उद्योगमा श्रीमती सरिता सरसफाइमा व्यस्त थिइन् । त्यतिकैमा सुनिलको मोबाइल बज्यो । सरिताले फोन टिपेर श्रीमान् सुनिललाई दिइन् ।

सुनिलले फोन नम्बर चिनेनन् । भारतीय नम्बरबाट आएको फोन उठाउँदै उनले ‘हेलो’ भन्न नपाउँदै उताबाट आवाज आयो, ‘तपाईंकी छोरी प्रकृति रहिनन् ।’ प्रकृति कलेजको होस्टेलमा मृत फेला परेको खबर कलेजमा पढ्ने एक विद्यार्थीले सुनिललाई दिए ।

एक्ली छोरी २० वर्षीया प्रकृति लम्सालको अचानकको मृत्युको खबरले उनी अवाक् भए । छोरीको मृत्युको खबरले आहत बनेका सुनिल सोमबार नै भारतीय राज्य उडिसाको राजधानी भुवनेश्वरतिर लागे । त्यहाँको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा बी–टेक तेस्रो वर्षमा अध्ययनरत छोरी प्रकृतिको मृत्यु भइसकेको थियो ।

यस वर्ष दसैं बिदामा बुटबलस्थित घर आएकी प्रकृतिले १ महिना घरबाटै अनलाइन कक्षा लिएकी थिइन् । त्यसपछि कलेज पुगेकी उनी कहिल्यै घर नफर्किनेगरी बिदा भइन् ।

नेपाली विद्यार्थीमाथि अत्याचार

प्रकृति आइतबार अपराह्न ४ बजे होस्टेलको क्युसिफो बिल्डिङमा मृत भेटिएकी थिइन् । उनीमाथि मानसिक अत्याचार भएको त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले बताएका छन् ।

प्रकृतिले सोही विश्वविद्यालयकै विद्यार्थी अद्विक श्रीवास्तवले आफूलाई दुव्र्यवहार गरिरहेको भन्दै उजुरी दिएकी थिइन् । तर, प्रशासनले उनको निवेदनलाई गम्भीरतापूर्वक लिएन । 

यसैबीच प्रकृतिका केटा साथी भनिएका श्रीवास्तव पक्राउ परेका छन् । भाग्दै गरेको अवस्थामा उनलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको उडिसाका स्थानीय समाचार संस्थाहरूले उल्लेख गरेका छन् । प्रकृति र श्रीवास्तवबीचको संवाद सामाजिक संजालमा भाइरल बनेको छ । संवादमा श्रीवास्तवले प्रकृतिलाई तथानाम गाली गरी अपशब्द प्रयोग गरेका छन् । नेपाली विद्यार्थीहरूले प्रकृतिलाई श्रीवास्तवले मानसिक यातना दिएको बताएका छन् ।

प्रकृतिको मृत्युको कारण अझै पत्ता लागेको छैन । मंगलबार उनको शवको पोस्टमार्टम गरिने छ ।

सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङका एक विद्यार्थी श्रीवास्तवले दुव्र्यवहार गरेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ । 
सामाजिक संजाल एक्सका एक प्रयोगकर्ताले ती पुरुष विद्यार्थीले प्रकृतिलाई दुव्र्यवहार गरेको अडियोसमेत पोस्ट गरेका छन् ।

गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ)लाई प्रकृतिले आफूमाथि दुव्र्यवहार भएको रिपोर्ट गरेकी थिइन् । तर, विश्वविद्यालयले कुनै कारबाही अघि नबढाएपछि प्रकृतिले आत्महत्याको बाटो रोजेको दाबी गरिएको छ ।

घटना रहस्यमा

प्रकृतिको मृत्यु रहस्यमय बनेको छ । उनको शंकास्पद मृत्युपछि कलेज प्रशासनले झनै रहस्यमय व्यवहार देखाएको छ ।

प्रकृति मृत भेटिएका दिन कलेजमा कार्यक्रम थियो । विद्यार्थीहरू त्यही कार्यक्रममा जम्मा भएका थिए । आइतबार अपराह्न ४ बजे नेपाली विद्यार्थी मृत भेटिएको खबर सुनेपछि सबै जना होस्टेल भवनतिर गए । सुरुमा विश्वविद्यालय प्रशासनले प्रकृतिले आत्महत्या गरेको जबाफ दियो तर शव लुकाइयो । नेपाली विद्यार्थीलाई प्रकृतिको शव नदेखाई गायब पारिएको थियो ।

यस प्रकरणमा नेपाली विद्यार्थीले प्रशासनसँग सोधेका थिए तर त्यहीबेला १ जना युवकले प्रकृतिलाई सताइरहेको कुरा खुल्यो । 

प्रकृतिको शव र घटनास्थलसमेत लुकाएर विश्वविद्यालयकै अस्पतालमा उनलाई मृत घोषित गरियो । प्रशासनले घटना ढाकछोप गरेपछि नेपाली विद्यार्थीले नजिकैको इन्फो सिटी प्रहरीमा उजुरी दिएर कलेजमा प्रदर्शन थाले ।

नेपाली विद्यार्थी आन्दोलित भएपछि कलेजका सहप्रशासकले धम्की दिएका थिए । नेपाली विद्यार्थीहरूले आइतबार रातभर प्रदर्शन गरेका थिए ।

नेपाली विद्यार्थीहरू आन्दोलित भएपछि सोमबार उनीहरू सबैलाई होस्टेलबाट बलजफ्ती निकालिएको छ । अहिलेसम्म करिब ७०० नेपालीलाई जबर्जस्ती होस्टेलबाट निकालेर रेल स्टेसन र बसपार्कमा अलपत्र छाडिएको छ ।

कलेजमा अध्ययनरत सबै नेपाली विद्यार्थीमाथि दुव्र्यवहार र कुटपिट भएको उनीहरूले बताएका छन् । 

विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि रजिस्ट्रारको कार्यालयले एक सूचना प्रकाशन गरी नेपाली विद्यार्थीलाई तत्काल क्याम्पस खाली गर्न भनेको थियो ।

छानबिनको माग

नयाँ दिल्लीस्थित नेपाली दूतावासले घटनाको निष्पक्ष छानबिनको माग गरेको छ । दूतावासले सोमबार विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गर्न विश्वविद्यालय र स्थानीय प्रशासनलाई आग्रह गरेको हो ।

दूतावासको पहलमा जबर्जस्ती निष्कासन गरिएका नेपाली विद्यार्थीलाई होस्टेलमा फर्कने वातावरण बनेको छ ।

विद्यार्थी निकालिएको सूचना प्राप्त हुनासाथ दूतावासले विश्वविद्यालयका रजिस्ट्रारलगायतका प्रतिनिधिसँग छलफल गरेको थियो । छलफलमा दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको थियो । 

त्यसैगरी, उनीहरूको कक्षा संचालनका लागि आवश्यक व्यवस्था मिलाउनसमेत अनुरोध गरिएको छ ।

घटनाका सम्बन्धमा दूतावासले नेपाली विद्यार्थीलगायत भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरूसँग सम्पर्क गरिरहेको जनाएको छ ।

दूतावासको आग्रहमा विश्वविद्यालय प्रशासनले सोमबार नै नेपाली विद्यार्थीलाई होस्टेलमा फर्कन आग्रह गरेको छ ।

विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस अवधिमा उनीहरूको शैक्षिक पक्षलाई बाधा पुर्‍याइने छैन र विश्वविद्यालयले उनीहरूको हेरचाह गर्ने छ । यसैअनुसार शैक्षिक कक्षा र छात्रावासको अस्थायी निलम्बन तुरुन्तै फिर्ता लिइएको छ । शान्ति कायम राख्न र उचित न्याय सुनिश्चित गर्ने उद्देश्यले यो कदम चालिएको थियो ।’

यसैबीच घटनाको छानबिन गर्न माग गर्दै नेपाली विद्यार्थीहरूले लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन् । 

उता, भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी समर्थित विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्ले नेपाली विद्यार्थीको समर्थनमा आन्दोलन सुरु गरेको छ ।

परिषद्का राष्ट्रिय कार्यकारिणी सदस्य विश्वजित पात्रले नेपाली विद्यार्थीसँग कलेजले माफी माग्नुपर्ने र उनीहरूलाई कलेजमा फिर्ता बोलाउनुपर्ने माग गरेका छन् ।

रेलवे स्टेसनमा अलपत्र रहेका नेपाली विद्यार्थीलाई खान र बस्नको व्यवस्थासमेत कलेजले नै गर्नुपर्ने परिषद्ले माग गरेको छ । यसबाहेक मृतक विद्यार्थी र उनको परिवारलाई क्षतिपूर्ति दिनसमेत परिषद्ले माग गरेको छ ।

कूटनीतिक पहल सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाको विषयमा सरकार कूटनीतिक सम्पर्कमा रहेको बताएका छन् ।

सामाजिक संजालबाट प्रधानमन्त्री ओलीले यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको बताएका छन् ।

यस्तै, परराष्ट्रमन्त्री डा. आरजु राणाले घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताएकी छन् । हाल ओमानमा रहेकी मन्त्री राणाले यससम्बन्धी समाचार सामाजिक संजाल तथा मिडियामा आएपछि यस विषयलाई गम्भीर रूपमा लिएर आफूले कूटनीतिक पहल सुरु गरेको जानकारी दिइन् । 

आफूले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई घटनाको वास्तविकता बुझेर नेपाली विद्यार्थीलाई परेको समस्याका बारेमा आवश्यक तत्परता लिई काम गर्न निर्देशन दिएको जानकारी दिइन् । 

उनले यस विषयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि जानकारी दिएको बताइन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले नयाँ दिल्लीस्थित नेपाली दूतावासले सम्बन्धित विश्वविद्यालयसँग सम्पर्क र समन्वय गरिरहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले घटनाको अनुसन्धानका लागि कूटनीतिक पहल गर्न सरकारको ध्या(नाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्ने समय नपाएपछि संसद् भवनबाहिर संचारकर्मीसँग कुरा गर्दै सांसद श्रेष्ठले घटनाको छानबिनका लािग कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

ADV

सम्बन्धित खबर

Advertise