२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

हिन्दू र मुस्लिम आस्थाको केन्द्र मदार बावा मेला आजदेखि सुरु 

draupadi film
मध्यान्ह
२०८१ फागुन ६ गते ११:०९
हिन्दू र मुस्लिम आस्थाको केन्द्र मदार बावा मेला आजदेखि सुरु 

नवलपरासी : हिन्दू र मुस्लिम धर्मावलम्बीहरूको संयुक्त आस्थाको केन्द्र मदारबाबा मेला आज (५ फागुन)देखि सुरु भएको छ । नवलपरासी (बर्दघाट सुस्तपूर्व)को विनयी त्रिवेणी गाउँपालिका-६ स्थित दाउन्नेडाँडामा सुरु भएको मेला यही फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।

मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ हिन्दू र मुस्लिम भक्तजन आएका छन् । गत शुक्रबारदेखि नै दर्शनार्थी र बजार राख्नेहरूको भीड लागेको छ । 

मदारथानमा हिन्दूहरूको पर्व शिवरात्रि सुरु हुनुभन्दा एक हप्ताअघिदेखि ठूलो मेला लाग्ने गर्छ । महाशिवरात्रिसम्म सञ्चालन हुने उक्त मेलामा नेपाल र भारतका लाखौँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । 

मदारबाबा स्थान मुस्लिम समुदायको नेपालकै ठूलो र ऐतिहासिकस्थल हो । विशेषगरी मुस्लिम समुदायको धार्मिकस्थल भए पनि त्यहाँ हिन्दू, बौद्ध धर्मावलम्बी सबैको आगमन हुने गरेको छ । यो स्थानको प्रवेशद्वार नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुस्ता गाउँपालिका-२ महलबारीमा र मुख्य समाधिस्थल नवलपरासी (बर्दघाट सुस्तपूर्व)को विनयी त्रिवेणी गाउँपालिका मदारी डाँडामा रहेको छ । 

मेलामा महलबारी मस्जिदका मठाधिस अमिरुल्लाह अन्सारी परम्परादेखि मदारी डाँडाको गद्दीमा आसिन हुने परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको हो । ‘गत वर्ष १२ लाख भक्तजनले मेला अवलोकन गरेका थिए, यस वर्ष पनि सोही अनुपातमा भक्तजन आउने अनुमान गरिएको छ’ ।

मदारबाबाले थुप्रै मुलुकसहित नेपालको नवलपरासी र बुटवलस्थित फूलबारीपार्क क्षेत्रमा पनि तपस्या गरेको इतिहास पाइन्छ । यहाँ भाकल गर्नाले सन्तान नहुनेले सन्तान प्राप्त गर्छन् भन्ने जनविश्वास रहेको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले सूचना जारी गर्दै मेला लाग्ने क्षेत्र वरपर मदिरा बिक्रीमा रोक लगाएको छ । विगतका वर्षहरूमा मदिरा सेवनकै कारण विभिन्न घटना भएकाले यस वर्ष मेला अवधिभर मदिरा बिक्री नगर्न-नगराउन सूचना जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताए । मेलाको सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनाको विपद् उद्धार टोली, मध्यवर्तीलगायत सुरक्षा संयन्त्र तैनाथ रहने उनले जनाएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise