काठमाडौँ : निजामती सेवामा राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने विषयमा प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूलाई एसएमएस अभियान चलाएको छ ।
अभियानले आज जारी गरेको विज्ञप्तिमा सहसचिव र उपसचिवको खुल्लातर्फ तोकिएको सेवा अवधि र योग्यता भएका राजपत्र अनंकित कर्मचारीहरूले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने, राजपत्रांकित तृतीय श्रेणीको पदपुर्तिमा ५०% खुला, ४० % बढुवा र १०% आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गर्नुपर्ने, ५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई १ तह र १० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई १ श्रेणी बढुवाको व्यवस्था गर्नुपर्ने, रा.प. तृतीय श्रेणीको प्रवेश विन्दु छैटौं तहलाई कायम गर्नुपर्ने, तिनै तहमा कार्यरत कर्मचारीहरूलाई 'निजामती कर्मचारी' को परिभाषामा समेट्नुपर्ने उल्लेख छ ।
त्यसैगरी पूर्वानुमान योग्य र स्वचालित सरुवा प्रणाली तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई अन्तर प्रदेश सरुवाको व्यवस्था गर्नुपर्ने, क्षतिपूर्ति सहितको नागरिक सेवा र कर्मचारीलाई मर्यादित जीवनयापनका लागि आवश्यक सेवा, सुविधाको सुनिश्चित गर्नुपर्ने लगायतका विषय उल्लेख गरी एसएमएस चलाएको हो ।