काठमाडौं : नेपाली सेनाले ऐतिहासिक गढी तथा किल्लाहरूको संरक्षण, पर्यटन प्रवद्र्धन, पुर्खाको सम्मानका लागि पदयात्रा सुरु गरेको छ ।
इतिहासलाई जगेर्ना गर्ने उद्देश्यले सिन्धुली जिल्लामा रहेको ऐतिहासिक दुई गढीहरु जोड्ने हरिहरपुरगढीबाट सिन्धुलीगढीसम्म पदयात्रा बुधबारबाट शुरु गरेको हो । हरिहरपुरगढी गाउँपालिका वडा नं. १ स्थित ऐतिहासिक हरिहरपुरगढीमा आयोजित उद्घाटन कार्यक्रममा श्री नं. ९ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी युवराज कार्की, सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष, श्री भवानीबक्स गणका गणपति, श्री नं. ९ वाहिनी अड्डा अन्तर्गतका युनिटपतिहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, जिल्लास्थित सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, जिल्लास्थित जनप्रतिनिधि, विद्यार्थी तथा स्थानीय व्यक्तिहरुको सहभागिता रहेको थियो ।
करिब ७५ कि.मि. दुरी पदयात्रा ८ दिनमा पुरा गर्ने योजना अनुसार नेपाली सेनाको टोलीलाई हरिहरपुरगढी गाउँपालिकाका अध्यक्षले पदयात्राको झण्डा हस्तान्तरण गरी ऐतिहासिक हरिहरपुरगढीबाट बिदाइ गरिएको थियो । उक्त पदयात्राको समापन फागुन १४ गते महाशिवरात्री तथा सेना दिवसको उपलक्ष्यमा विशेष कार्यक्रमका साथ सिन्धुलीगढीमा समापन गरिने सेनाले जनाएको छ ।