२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

आगामी निर्वाचनसम्म नेपाली कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामा रहन्छ : गगन थापा 

ADV
तिलु शर्मा पौडेल
२०८१ असार १५ गते २०:२३
आगामी निर्वाचनसम्म नेपाली कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामा रहन्छ : गगन थापा 

दोहा, कतार : नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापाले आफ्नो दल आगामी निर्वाचनसम्म प्रमुख प्रतिपक्षका रूपमा बस्ने बताएका छन् । 

उनले अहिले जुन दलले सरकार चलाएका छन् तिनै दललाई आगामी निर्वाचनसम्म सरकार चलाउन दिँदै कांग्रेसले सरकारको आलोचना गर्ने, विरोध पनि गर्ने र सहकार्य पनि गर्दै सशक्त प्रतिपक्षमा बस्ने बताए ।

कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति कतारको १७ औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै गगनले उक्त कुरा बताएका हुन् । 

सरकार सञ्चालन र विकासका लागी गति र गन्तव्यको सही पहिचान गर्न नसकिएको स्वीकार गर्दै थापाले यो युगको अन्त्य पूर्व नेपाल गरिब राष्ट्रको सूचीबाट मध्यम राष्ट्रमा पुग्न सक्ने गरी लक्ष्य लिनुपर्ने बताए । यो लक्ष्य प्राप्तिका लागि पुराना नयाँ सबै राजनीतिक  दलहरूले साझा मुद्दाका रूपमा लिएर मिलेर गरे मात्र सम्भव छ, यसका लागि शिक्षा र स्वास्थ्यलाई सुधार गर्नुपर्ने छ, त्यसका लागि योजनामा छलफल गर्न आफू तयार रहेको उनले बताए ।

उनले आगामी चुनावमा कोही कसैसँग गठबन्धन नगरी चुनावमा होमिनुपर्ने आवश्यकता आंैल्याउँदै अन्य दललाई पनि गठबन्धन नगरी चुनावमा जान आग्रह गरे । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उदाहरण दिँदै प्रतिफल नदिने क्षेत्रमा ऋण लिएर लगानी किन गरियो ?, विमानस्थल सञ्चालनमा आएपछि त्यहाँबाट आम्दानी गरेर ऋण तिर्न किन सकिएन भन्दै प्रश्न गरे । उनले आम्दानी नहुने क्षेत्रमा ऋण लिएर लगानी गर्दा राष्ट्रको नाममा अरबौँ ऋण थपिएको हुँदा सचेत हुन आग्रह गरे । कार्यक्रममा विभिन्न वक्ताले दिएका सुझावलाई आफूले सदनसम्म लैजाने प्रतिबद्धता समेत थापाले व्यक्त गरे । 

नेपालमा संघीयताको विरोधका आवाज आफूले पनि सुनेको बताउँदै संघ र प्रदेशको संरचनामा ठिक भए पनि माननीयहरूको संख्यामा पुनर्विचार गर्दै निर्वाचन संरचनामा पनि पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । २०८० देखि शुरु भएको ‘जनतासँग नेपाली कांग्रेस’ कार्यक्रमको नेतृत्व गर्दै गगन विभिन्न समयमा देश तथा विदेशको भ्रमण गर्ने क्रममा कतार आएका हुन् । उनले स्थानीय रूपमा सरकारले भवन तथा टावर निर्माणमा धेरै रकम खर्चिंदा राष्ट्रको ऋण बढेको कुरालाई नजरअन्दाज नगर्न सुझाव दिए ।  

शुक्रबार ओल्ड सलातामा रहेको प्लाजा इन सभा हलमा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा केन्द्रीय सदस्य एवम् पूर्व नेविसंघ अध्यक्ष नैन सिंह महरले राणाहरूको सिकन्जाबाट आजसम्मको प्रगति हेर्ने हो भने राजनीतिक रूपमा मात्र नभइ सामाजिक तथा विकासका गतिमा नेपालले प्रगति गरिरहेको दाबी गरे । ७ प्रतिशतबाट ९७ प्रतिशत जनताले बिजुली उपयोग गरिरहेको बताउँदै मेहरले नेपालमा प्रगती र समृद्धि भइरहेको बताए । 

कार्यक्रममा केन्द्रीय सदस्य एवम् जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण पौडेलले हालसालै नेपालमा भएको कतारका अमिरको भ्रमणका क्रममा श्रमिकको हितमा प्रतिफल निस्कने गरी सरकारले मुद्दा उठाउन नसकेको दाबी गरे । कतारसँग समन्वय तथा सहकार्य गर्न सके नेपाल र कतारमा रहेका नेपालीले लाभ लिन सक्ने उनले बताए । उनले मातृभूमीले जति प्रवासी नेपालीलाई सेवा सुविधा दिनुपर्ने हो त्यति दिन नसकेको प्रति दुःख व्यक्त गरे । 

कतारका लागि नेपाली राजदूत डा.नरेश विक्रम ढकालले श्रमिकका पक्षमा काम गर्दा गर्दै सरकारले फिर्ता बोलाएकोप्रति लक्षित गर्दै आफू फिर्ता जाँदै गर्दा केही योजनाले पूर्णता नपाएको बताए । कार्यक्रममा मध्यपूर्वका जनसम्पर्क समितिका सभापति तथा प्रतिनिधिहरुले समेत आफ्ना शुभकामना मन्तव्य राखेका थिए । 

एनसीसी कतारका अध्यक्ष रमेश भट्टले भने,‘नेता ज्यूहरूको प्रोटोकल मिल्छ भने कतारका जेलमा नेपाल फिर्तिका लागि र अस्पतालमा रहेका बिरामी पर्खिरहेकालाई भेट्न जानुहोस् ।’

वक्ताहरूले सरकाले श्रमिकका लागि सञ्चालनमा ल्याएको सामाजिक सुरक्षा कोषमा सरकारले ट्याक्समार्फत काट्ने रकमलाई न्यूनीकरण गर्न पहल गर्न आग्रह गरेका थिए । 

दुई दर्जन भन्दा बढी वक्ताहरूले मन्तव्य राखेको कार्यक्रममा गगनलाई लक्षित गर्दै सरकारले डिजिटल माध्यमको भयंकर प्रचार–प्रसार गरे पनि पासपोर्टको फारममा देखिएको समस्याप्रति कटाक्ष गरे । 

‘डिजिटल युगको ठूलो कुरा गरेपनि अनलाइनबाट फाराम भर्ने सलट निरन्तर चालु गर्न किन नसकेको’ भनि प्रश्न समेत गरेका थिए । वक्ताहरूले प्रवासी श्रमिकहरूको श्रम दुई वर्षको हुने र इन्सुरेन्स ३ वर्षको किन हुन्छ ? भनि गगनलाई प्रश्न गर्दै श्रमिकका आवाज सदनमा पुर्‍याउन आग्रह गरेका थिए ।  

कार्यक्रममा संस्थापक सभापति एवं महासमिति सदस्य नरेन्द्र भाट, संस्थापक महामन्त्री एवं महासमिति सदस्य विमल सुवेदी, संस्थापक सल्लाहकार तथा महासमिति सदस्य क्रान्ति सिंह, महासमिति सदस्यहरू, सल्लाहकारहरू, पूर्व पदाधिकारीहरू, राष्ट्रिय लोकतन्त्र समाजवादमा आस्थावानहरूसहित कतारमा स्थापित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू तथा पत्रकारहरूको विशेष उपस्थिति रहेको थियो ।

वार्षिकोत्सव कार्यक्रममा कलाकारहरू जिया हमाल, सोनिसा तामाङ, एलिसा साम्पाङ राई, सृजना तामाङ, सीमा मगर, जीवन खालिङ राई र सुनिल तामाङले सागितिक प्रस्तुति दिएका थिए । समितिका महामन्त्री केदार भुसालले सहजीकरण गरेको कार्यक्रममा उप–सभापति ठाकुर कुमार परियारले स्वागत मन्तव्य राखेका थिए  ि समितिका सभापति तथा कार्यक्रमका सभापति मोहमद अजिज अलिले वार्षिकोत्सव कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा आभार व्यक्त गरेका थिए । कार्यक्रममार्फत समितिका संस्थापकसहित विभिन्न सहयोगीहरू सम्मानित भएका थिए ।

वार्षिकोत्सव कार्यक्रममार्फत राष्ट्रिय लोकतन्त्र समाजवादमा आस्था राख्ने फरक-फरक जिल्लाका ५४ जना युवाहरूले नेपाली कांग्रेसको सदस्यता लिएका छन् । नव सदस्यहरुलाई महामन्त्री थापाले खादा ओढाएर स्वागत गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise