२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रवासका व्यवसायीहरूले नेपालमा लगानी गर्ने बेला आएको छः गगन थापा

ADV
तिलु शर्मा पौडेल
२०८१ असार १६ गते २२:२३
प्रवासका व्यवसायीहरूले नेपालमा लगानी गर्ने बेला आएको छः गगन थापा

दोहा कतार : नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापाले कतारका नेपाली व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

सानै रकम भएपनि नेपालको कुनै एक क्षेत्रमा लगानी गर्न उनले आग्रह गरेका हुन् । नेपाल व्यवसायी संघ कतार एलएलसी (जी) ले गगन थापासहित केन्द्रीय सदस्य एवम् जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण पौडेल केन्द्रीय सदस्य एवम् पूर्व नेविसंघ अध्यक्ष नैन सिंह महरसँग शनिबार दोहाको रेडिसन बुलुमा गरेको अन्तरक्रिया तथा साक्षात्कार कार्यक्रम गरेका थियो ।

कार्यक्रममा थापाले लगानीका लागि पोलिसी बनाउनेदेखि सहजीकरण गर्ने, काम सत्ता चलाउने र नेताको जिम्मेवारी रहेको र त्यो पुरा गर्ने बताए । प्रवासमा व्यवसाय गरिरहेका सबै व्यवसायीले नेपालमा लगानी गर्ने बेला आएको उनले बताए ।

उनले देश दुखेको बेला प्रवासी नेपाली तथा व्यवसायीहरूले सदैव सरकारलाई सहयोग गरेको स्मरण गर्दै नेपाली तथा गैरआवासीय नेपालीले नेपालमा अनिवार्य लगानी गर्न थाले ठूलो लगानी भित्रने विश्वास व्यक्त गरे ।

अन्तरक्रियामा सहभागी संघका पदाधिकारी तथा उपस्थितले आफ्ना जिज्ञासा राखेका थिए । 

सहभागीहरूले देशमा लगानी भित्र्याउने वातावरण बनाउनेदेखि आयात र निर्यातका नीति तथा सहकारीमा फसेको पैसा कसरी लिने भन्नेसम्मका प्रश्न राखेका थिए । सामाजिक सुरक्षा कोषमा थुप्रिएको पैसालाई लगानी गरी त्यसबाट प्राप्त आयले सेवा गर्न सकिने सम्मका सुझाव सहभागीले दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गगन थापाले संसदमा उठाउन मिल्ने, नीति निर्माणमा सुझाव दिन मिल्ने र आफैले गर्न सक्नेको पहिचान गरी अगाडी बढ्ने बताए ।

कार्यक्रममा सहभागी नेपाली राजदूतावास कतारका महामहिम राजदूत नरेश विक्रम ढकालले नेपाल लगानीका लागि सुरक्षित राष्ट्र हो भनेर सकारात्मक सन्देश दिन अति आवश्यक रहेको बताए । उनले विभिन्न १६ वटा बुँदामा नेपाल र कतार बीच सम्झौता हुन लागे पनि आफूलाई सरकारले फिर्ता बोलाएकोमा र बाँकी बुँदामा नयाँ आउने राजदूतले काम गर्ने विश्वास व्यक्त गरे । उनले कतार फाउण्डेसनले नेपालमा शिक्षामा लगानी गर्न खोजे पनि नेपालको कर्मचारी तन्त्रलाई प्रोटोकलको नीतिले किच्दा सम्झौता हुन नसकेको खुलासा गरे । 

उनले एनसीसी कतार, व्यवसायी संघ र दूतावासले धेरै राम्रा कामको थालनी गरेको स्मरण गर्दै आफू नेपाल फर्किए पनि निरन्तरता दिन आग्रह गरे । नेपाल सरकारले नेपाल बाहिर रहेका लगानीकर्ताका लागि राम्रो पोलिसी बनाउनै नसकेको दाबी केन्द्रीय सदस्य पौडेलले गरे ।

उनले लगानीका लागि आवश्यक पहिलो पोलिसी हो त्यो नै कमजोर रहेको बताउँदै लगानीका लागि हजारौँ क्षेत्र रहेको बताएका थिए । अन्तरक्रियामा विकास, कानून, आयात निर्यात लगायत विभिन्न विषयमा करिब ३ घण्टा छलफल भएको थियो ।

संघका उपाध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके) ले प्रवासमा आर्जन गरेको पुँजीलाई  देशको विकासमा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने बारे वृतचाटमार्फत प्रस्ट पारेका थिए ।

महासचिव शंकर न्यौपानेले सहजीकरण गरेको कार्यक्रममा उपाध्यक्ष राजु रेग्मी (राज)ले स्वागत मन्तव्य राखेका थिए भने अर्का उपाध्यक्ष नरेन्द्र भाटले  व्यवसायी संघको आवश्यकता र संघले गरिरहेका कार्यका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रमका सभापति तथा संघका अध्यक्ष महेन्द्र चम्लागाईले सांसद थापासहित कांग्रेसका नेताहरूसँगको अन्तरक्रियाले नयाँ ऊर्जा मिलेको बताए ।

उनले अमूल्य समयका लागि सांस थापा, नेतागण, राजदूत र उपस्थितसहित नेपाली जनसम्पर्क समिति कतारलाई धन्यवाद ज्ञापन गरेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise