२०८१ चैत २ गते शनिवार / Mar 15 , 2025 , Saturday
२०८१ चैत २ गते शनिवार
Ads

त्रसित समाजवादी मोर्चा !

hardik ivf
जीवन शर्मा
२०८१ चैत २ गते ०६:४०
त्रसित समाजवादी मोर्चा !

काठमाडौं : ४ दल मिलेर बनेको समाजवादी मोर्चा पूर्वराजाको पछिल्लो गतिविधिलाई लिएर निकै त्रसित बनेको छ । कम्युनिस्ट एकता गरी समाजवादी केन्द्र निर्माणमा पुग्ने उद्देश्य राखेर बनेको मोर्चा कोमामा पुगेको राजसंस्थाको एजेन्डामा अल्मलिएर त्रसित बनेको हो । 

राप्रपासहित राजावादीहरूको पछिल्लो आन्दोलनपछि त्रसित बनेको समाजवादी मोर्चाले आगामी १५ चैतमा बृहत् आन्दोलनका कार्यक्रम नै घोषणा गरेको छ । मोर्चामा आवद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले यो विषयलाई लिएर बढी नै राजनीतिक चलखेल गरिरहेका छन् ।

उनीहरूले राजनीतिक परिस्थिति जटिल बनेको निष्कर्ष निकाल्दै अत्तालिएका देखिन्छ । तर, के जटिल परिस्थिति बन्यो भन्ने ठोस प्रमाण उनिहरूसँग छैन । समाजवादी मोर्चाले परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको भन्दै यसलाई असफल बनाउन काठमाडौंमा बृहत् विरोध कार्यक्रम तय गरेको छ, जसका लागि हजारौं मानिस उतार्नेगरी तयारी गर्ने निर्णय भएको मोर्चामा सहभागी नेपाल कम्युनिस्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बताए ।

‘पछिल्लो परिस्थितिको समीक्षा गरेका छौं’, उनले भने, ‘परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको छ । जटिल बनाउने कसरतहरू भइरहेका छन् । यो विषयमा बुद्धिजीवी र नागरिक समाजसँगसमेत अन्तरक्रिया गर्दै छौं ।’

उनले संसदवादी दलहरू र संसदीय राजनीतिभन्दा बाहिर रहेका राजनीतिक दल र नेताहरूसँग पनि नयाँ ढंगले छलफल गर्ने निर्णय गरेको बताए ।
कतिपयले भने मोर्चाको आन्दोलन र छटपटीलाई बेमौसमी बाजाका रूपमा समेत अथ्र्याउने गरेका छन् । पूर्वराजा र उनका पक्षधरहरूको गतिविधिप्रति सरकार र वर्तमान व्यवस्थाका पक्षधरहरू सचेत हुनुपर्ने भए पनि अघिल्लो आन्दोलनलाई लिएर भयभीत हुनुपर्ने अवस्था नरहेको राजनीति विश्लेषक डा. कुन्दन अर्यालको बुझाइ छ ।

‘अहिले आत्तिनुपर्ने अवस्था होइन’, उनले मध्यान्हसँग भने, ‘यो व्यवस्था कुनै खतरामा छैन । तर, यति हो कि दलहरूलाई सच्चिनुपर्छ भन्ने चेतावनीयुक्त सन्देश हो ।’ यो सन्देशलाई लिएर गणतन्त्रवादी दलहरूले गम्भीरताका साथ मुलुक र जनताको अवस्था बुझ्न सक्नुपर्ने उनको भनाइ छ ।

गणतन्त्र जनताका लागि हुनुपर्ने अर्यालले बताए । ‘गणतन्त्र आयो भनेर मात्र हुँदैन, जनताका लागि हुनुपर्छ’, उनले भने, ‘यी दलहरूले गणतन्त्र जोगाउनुपर्दैन । उनीहरू सच्चिए पुग्छ, यो व्यवस्था आफैं जोगिन्छ । समाजवादी मोर्चाले राजनीतिक सक्रियताका लागि कसरत गर्ने अवसरका रूपमा यो घटनालाई लिएको हुनुपर्छ ।’

गणतन्त्रवादी दलहरूले नै गणतन्त्र कमजोर गराउने काम गरेको भन्दै अर्यालले अहिले गणतन्त्र खतरामा छ भन्ने स्थिति नरहे पनि समाजवादी मोर्चामा रहेका दल र नेताहरूले राजनीतिक सक्रियताका लागि कसरत गर्ने अवसरका रूपमा लिएको अर्यालले टिप्पणी गरे । 

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले यो विषयलाई बढी नै जोडतोडका साथ उठाएको छ । सो दलले आफ्नो नियमित अभियानलाई नै स्थगन गरेर फरक आन्दोलनको तयारीमा लागेको नेताहरूले दाबी गरेका छन् । त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले राजावादीविरुद्धको आन्दोलमा उत्रने तयारी गरेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूलाई इँटको जबाफ पत्थरबाट दिइने चेतावनी दिए ।

प्रचण्डले भने, ‘इतिहासमा हजारौं जनताका छोरा–छोरीको बलिदानीबाट प्राप्त लोकतन्त्र १०–१५ हजार मान्छे उफार्दैमा उल्टाउन सम्भव छैन । तर, दुस्साहस चैं भएको छ, इँटको जबाफ पत्थरले दिन माओवादी तयार छ ।’

आगामी १५ चैतमा काठमाडौंमा आयोजना गरिएको प्रदर्शनमा उपस्थित हुन सबैलाई आह्वान गर्दै अध्यक्ष प्रचण्डले पूर्वराजालाई अरूको भरमा नउचालिन चेतावनी दिए ।

माओवादीसहित केही राजनीतिक दलको त्रासलाई लिएर राजावादी शक्तिहरूलाई थप बल पुगेको देखिन्छ । यही आन्दोलनबाट गणतन्त्रवादी दलहरू त्रसित भएको विषयलाई लिएर राप्रपाका महामन्त्री धवलशम्शेर राणाले देशमा परिवर्तनको हावा चलिसकेकाले गणतन्त्रवादीहरूको मनमा ढ्यांग्रो ठोकेको बताए ।

उनले मध्यान्हसँग भने, ‘हामी जनताको बलमा सहयोग गर्ने मात्र हौं । देशमा परिवर्तनको हावा चलिसकेको छ । यसलाई बुझेर गणतन्त्रवादीहरू अत्तालिने अवस्थामा पुगेका छन् । तर, हामी कुनै अप्रिय खालको संघर्ष गर्दैनौं, शान्तिपूर्ण आन्दोलन जनतालाई साथ दिन्छौं । यसमा राप्रपाले मात्र परिवर्तन गर्न सक्दैन । सबै दलरूलाई जनभावनाअनुसार राजसंस्था पुनस्र्थापनाका लागि छलफल गर्न आह्वान गर्दछौं ।’

यद्यपि, सरकार सम्बद्ध दलरूले पूर्वराजा समर्थकको आन्दोलनलाई सामान्य ठानेको छ । लोकतन्त्रमा संविधानको सीमाभित्र रहेर राजनीतिक गतिविधिहरू गर्न पाउने व्यवस्था भएकाले पूर्वराजा र उनका समर्थकको गतिविधिलाई राजनीतिक परिवर्तनका रूपमा लिनु नहुने बताउँछन् ।

‘केही राजावादीहरूले सडकमा आन्दोलन गर्दैमा गणतन्त्र धरापमा पर्‍यो भन्न मिल्दैन’, नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘यही व्यवस्थाका कारण उहाँहरू सडकमा आउने अवस्था बनेको हो । लोकतन्त्रमा संविधानको दायरामा रहेर राजनीतिक गतिविधिहरू गर्न पाइन्छ । यसलाई प्रतिपक्षी साथीहरूले अलि ठूलै बनाएको देखिन्छ ।’

सरकार र दलहरूले जनताप्रति उत्तरदायी बनेर काम गर्दा यो व्यवस्थाप्रति जनताको पूर्ण समर्थन हुने उनको भनाइ छ । सत्ताको नेतृत्वकर्ता नेकपा एमालेले समेत यो विषयलाई चर्काउनुपर्ने अवस्था नरहेको टिप्पणी गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise