२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कर्णाली प्रदेश सभा : तत्कालका लागि हट्यो अवरोध

ADV
कुलेन्द्र शाही
२०८१ असार १७ गते २१:४२
कर्णाली प्रदेश सभा : तत्कालका लागि हट्यो अवरोध

सुर्खेत : कर्णाली प्रदेश सभाको अवरोध तत्कालका लागि हटेको छ । प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८१/८२ को बजेटप्रति असहमति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाले संसद अवरोध गर्दै आएका थिए । 

आइतबार संसद अवरोध मात्रै होइन्, सदनमै प्रमुख प्रतिपक्ष कांग्रेसले अर्थमन्त्री महेन्द्र केसीमाथि हातसमेत हालेको थियो । कांग्रेसले अर्थमन्त्री केसीलाई रोस्ट्रम जान रोक्ने क्रममा केसीमाथि हात हालेको थियो । कांग्रेस सांसदले मन्त्री केसीलाई समातेपछि छुट्याउन गएका सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूबीच धकेलाधकेल भएको थियो । 

तर सोमबार भने सभामुख नन्दा गुरुङको अध्यक्षता र मुख्यमन्त्री यामलाल कँडेलको उपस्थितिमा बसेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग ९ बुँदे सहमति गरेपछि प्रदेश सभाको अवरोध हटेको हो  । 

उक्त बैठकबाट व्यक्तिको नाम, नीजि फर्म (सरकारी सम्पति व्यक्तिगत प्रयोजन हुने गरी) आएका योजनाहरुलाई कार्यान्वयन हुन नदिने, क्रमागत र बहुवर्षीय आयोजनाहरुलाई प्राथमिकता निर्धारण गरी निर्माण कार्यलाई प्राथमिकता दिने निर्णय भएको छ ।

यस्तै प्रदेश सरकारले तर्जुमा गरेका कृषितर्फका कार्यक्रम बाहेक १० लाखमाथिका सबै योजनाहरू ठेक्का/बोलपत्र आह्वान प्रक्रिया मार्फत सञ्चालन गर्ने र प्रक्रिया पूरा गरी छनोट भइसकेका ‘एक जिल्ला एक नमुना विद्यालय’ कार्यक्रम कार्यान्वयन गर्ने, एक पालिका एक विद्यालय भवनलाई लागू गर्ने र शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भौतिक निर्माणतर्फको कार्यक्रम प्रदेश सभा सदस्यहरूको सिफारिसका आधारमा छनौट गर्ने विषयहरू कांग्रेसले सरकारलाई पेस गरेको छ ।

उक्त सबै विषयहरू सम्बोधन गरेर जाने विषयमा सरकार अग्रसर भएको हो । सहमति पश्चात् सञ्चालन भएको सदनमा बोल्दै मुख्यमन्त्री यामलाल कँडेलले सरकार केही सुधार हुने गरी अघि बढेको बताएका छन् । उनले कांग्रेसले मर्यादा विपरीत गतिविधि गरेको भन्दै सचेत समेत गराए । मुख्यमन्त्री कँडेलले बजेटको सन्दर्भमा सबै कुरा सही छन् भन्ने पक्षमा आफू नरहेको पनि बताए ।

‘बजेटमा सबै कुराहरू सही छन् भन्ने पक्षमा म छैन, म त सुधार गरेर जानुपर्छ भन्ने पक्षमा हो,’ उनले भने, ‘म विश्वास दिलाउन चाहन्छु कि मैले विगतमा (प्रतिपक्षमा हुँदा) जे भनेको थिएँ त्यसबाट म विचलित छैन ।’

कँडेलले आफू प्रतिपक्षीमा हुँदा सुशासन र सरकारको विषयमा जे बोलिएको थियो उक्त कुरामै रहेर अघि बढ्ने प्रयत्न गरिरहेको तर सबै कुराहरू भनेजस्तो नहुने बताए । उनले अहिले प्रदेश सभामा भइरहेको अभ्यास हिजोको जस्तो नभएको प्रष्ट पारे ।

ADVADV

सम्बन्धित खबर

Advertise