रौतहट : स्रोत नखुलेको रकमसहित २ जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा गस्ती टोलीले ईशनाथ नगरपालिका ४ महुलियास्थित सीमा नाकामा चेकजाँच गर्ने क्रममा मधेश प्रदेश ०३-०३५ प ६४५५ नम्बरको मोटरसाइकलमा सवार रौतहटकै परोहा नगरपालिका ५ का ३५ वर्षीय सहजाद देवान तथा राजपुर नगरपालिका ४ का ३२ वर्षीय शेख सरसामको साथबाट स्रोत नखुलेको रकम बरामद गरेको हो ।
सोमबार साँझ पक्राउ परेका उनीहरूको साथबाट स्रोत नखुलेको १ सयको ३ सय ९ थान र ५ सयको १ सय थान गरी कूल ३ लाख ५९ हजार नगद बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको नगदसहित उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ । बरामद भएको उक्त रकमको स्रोतबारे थप अनुसन्धान अघि बढाइएको सशस्त्र प्रहरी निरीक्षक संजित कुमार सिंहले जानकारी दिए ।