कपिलवस्तु : कृष्णनगर न.पा–२ स्थित ब्यारियर चेकपोस्टबाट सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको १५ लाख रुपैयाँ बराबरको अवैध चुरोट बरामद गरेको छ ।
चेकजाँचका क्रममा काठमाडौं जाँदै गरेको लु. २ ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीबाट उक्त चुरोट बरामद गरिएको हो ।
सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामी मगरको नेतृत्वमा खटिएको टोलीले रिचमण्ड ३ हजार प्याकेट, म्यानचेस्टर १ हजार प्याकेट र एल एण्ड बी १ हजार प्याकेट चुरोट बरामद गरेको छ । पश्चिमाञ्चलका गाडीहरूमा तस्करी भइरहेको गुनासो आइरहेको बेला प्रहरीले सक्रिय अनुगमन थालेको छ ।
प्रहरी स्रोतका अनुसार ड्राइभर र सहचालककै मिलेमतोमा कपडा, चिनी, गाडीका पार्टस लगायतका सामग्री भारतको बढनी बजार नजिकबाट ल्याइ काठमाडौं पुर्याउने गरिएको छ । तर, बरामद चुरोटबारे चालक र सहचालकले अनभिज्ञता जनाएको बताइएको छ । बरामद अवैध चुरोटलाई आवश्यक कानुनी कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।