बुढीगण्डकी जलविद्युुत आयोजनाबाट तीन शीर्ष नेताहरु (केपी शर्मा ओली, पुुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा) ले घुस लिएको अभिव्यक्ति दिएपछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई विवादित बन्न पुगेका छन् । जनता समाजवादी पार्टीका बरिष्ठ नेता भट्टराई पूर्व अर्थमन्त्री समेत हुन् । भट्टराईले दिएको अभिव्यक्तिलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बक्तव्य नै जारी गरेर खण्डन गरेका छन् । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार खण्डन पत्र जारी गरेका छन् । दुवै बक्तव्यको साझा भाषा र चुनौती भने भट्टराईले जिम्मेवार हुनुपर्नेछ भने आरोप पुष्टि गर्न चुनौती दिइएको छ ।
हुन पनि ओली वर्तमान सरकारका प्रधानमन्त्री हुन् भने प्रचण्ड र देउवा एक भन्दा बढी पटक प्रधानमन्त्री भइसकेका छन् । देउवा त चार पटक प्रधानमन्त्री भइसकेका र प्रमुख प्रतिपक्षी दलका सभापति हुन् । प्रचण्ड पनि दुई पटक प्रधानमन्त्री भइसकेका छन् । तीन जना शीर्ष नेताहरुले घुस लिएको आफूले प्रमाण पेश गर्न सक्ने भट्टराईले पनि अभिव्यक्ति दिएका छन् । यसले राष्ट्रिय राजनीतिमा ठूलै तरंग ल्याएको छ । त्यसै पनि नेपाली राजनीतिमा भ्रष्टाचारको आरोप चासो र महत्वको विषय बन्ने गरेको छ । भट्टराई आफ्नो पत्नी समेत रहेकी हिसिया यमीलाई भ्रष्टाचारको आरोप लाग्ने गरेको प्रति खण्डनमा अभिव्यक्ति दिएका हुन् । यसको अर्थ स्वयम् भट्टराई पनि यस्तो आरोपबाट मुक्त छैनन् ।
विशेषगरी फरक दलमा रहँदा नेताहरुमाथि भ्रष्टाचारको आरोप लगाउने र तिनै आरोपबाट सार्वजनिक चर्चा बटुल्ने प्रचलन नयाँ होइन । २०४६ साल पछि बनेका सरकारमा जानेहरुमाथि भ्रष्टाचारको आरोप लाग्ने गरेको छ । अहिले प्रभावशाली रहेका धेरै जसो नेताहरुमाथि भ्रष्टाचार आरोप लाग्ने गरेको छ, तर सार्वजनिक अभिव्यक्तिका रुपमा मात्रै । केही नेताहरुमाथि मात्रै छानबिन भएको छ र भ्रष्टाचार प्रमाणित भएर जेल सजाय भोगेका छन् । पक्कै पनि भ्रष्टाचार विरुद्धको अभियान सरकारकै कार्यक्रम हो, अहिलेका प्रधानमन्त्रीले भ्रष्टाचार विरोधी नीति समेत लिएका छन् । तर, यसरी सार्वजनिक रुपमा आरोपले मात्रै उपलब्धी हुनेवाला छैन, बरु राजनीतिप्रति नै बितृष्णा जाग्नेछ । त्यसका लागि छानबिनलाई बलियो बनाउनुपर्नेछ । आरोप, खण्डनमा रुमलिने मात्रै नभएर छानबिन र भ्रष्टाचार प्रमाणित भए कार्बाही महत्वपूर्ण विषय हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies