काठमाडौं : अमेरिकाले आफ्नो देशको भिसा दुरुपयोग गरे देशबाट निष्कासन गर्ने चेतावनी दिएको छ । अमेरिकाको कानुन उल्लंघन गरेको पाइए त्यस्ता व्यक्तिको भिसा रद्द गरी देशबाट निष्कासन गरिने नेपालस्थित अमेरिकी दूतावासले चेतावनीे दिएको हो ।
अमेरिकाले भिसा जारी गरिसकेपछि नियमित चेकजाँच गर्दै आइरहेको जानकारी दिँदै दूतावासले अमेरिकी कानुन र आप्रवासन नियमहरूको पालना गर्न आग्रह पनि गरेको छ ।
‘अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन । सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं । उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं,’ दूतावासले बुधबार विज्ञप्ती जारी गरी भनेको छ ।
यसअघि पनि दूतावासले अवैध आप्रवासन खतरनाक हुने बताएको थियो । अवैध आप्रवासन अन्त्य गर्ने अमेरिकाको नीति रहेको प्रस्ट पार्दै दूतावासले उक्त बाटो नअपनाउन नेपालीहरूलाई आग्रह गरेको थियो ।
दूतावासले एजेन्टहरूको झुटो आवश्वासन र अवैध बाटो अपनाउँदा नजरबन्द, आपराधिक क्रियाकलाप लगायतको सामना गर्नु परिरहेको जानकारी दिएको थियो ।
‘हरेक वर्ष धेरैले रोजगारीको अवसर खोज्न एजेन्टहरूको झुटो आश्वासनमा लागेर आफ्नो जीवन नै जोखिममा पार्छन् । त्यस्तो झुटो आश्वासनमा परेर जीवनलाई नष्ट नपार्नुस् । आफू र आफ्नो परिवारलाई सुरक्षित राख्नुस्,’ यसअघि दूतावासले भनेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीतिसम्बन्धी कार्यकारी आदेश जारी गरेपछि अवैधरूपमा अमेरिकामा बस्दै आएका नेपालीहरू निष्कासनमा पर्दै आएका छन् ।
पछिल्लो २ महिनामा अमेरिकाले ४० बढी नेपालीलाई निकाला गरिसकेको छ । पछिल्लोपटक अमेरिकाले चार्टर जहाजमार्फत ११ जना नेपालीलाई निष्कासन गरी काठमाडौं पु¥याएको थियो ।