पर्सा : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा राजतन्त्र फर्किने कुरा असम्भव रहेको बताएका छन् । जनतासँग माओवादी तराई–मधेश जागरण अभियानअन्तर्गत शुक्रबार वीरगन्जमा नागरिक समाजसँगको संवादमा अध्यक्ष दाहालले अब राजा महाराजा फर्कने कुरा असम्भव भएको बताए ।
राजा फर्कने सम्भव भएपनि पूर्वपञ्चहरूले धमिलो पानीमा माछा मार्ने काम गरिरहेको उनले टिप्पणी गरे । अध्यक्ष दाहालले पूर्वराजा ज्ञानेन्द्रले ८६/८७ वर्षका वृद्ध पूर्वपञ्च नवराज सुवेदीलाई राजसंस्था पुनस्थापना गर्ने जिम्मेवारी दिएको बताउँदै नहुने बेला बुद्धि उल्टो उल्टो जान्छ भन्ने उखान चरितार्थ भएको बताए ।
नेपाली जनताले सम्मानका साथ पूर्वराजालाई बस्न दिएको उल्लेख गर्दै ट्रस्टमार्फत शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा काम गर्न सुझाव दिए ।
पूर्वराजा ज्ञानेन्द्रले राजनीति गर्न नसक्ने बताउँदै दाहालले २ सय ५० वर्षसम्म शाह वंशले देश चलाउने अवसर पाएर पनि असफल भएको दाबी गरे ।
वर्तमान सरकारले भ्रष्टाचारीलाई जोगाउने, बेथिति र अराजकता कायम गर्ने काम गरेको कारण जनतामा असन्तुष्टि बढेको र त्यसको फाइदा पूर्वराजा र उनका समर्थकहरूले उठाउन खोजेको दाहालको भनाइ छ ।
फरक प्रसंगमा उनले शासकीय स्वरूपमा संसदीय निर्वाचन प्रणाली मात्र अपनाएर नहुने बताउँदै जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिएको बताए । त्यस्तो कार्यकारी प्रमुखले ५ वर्ष काम गर्न पाउने सुनिश्चितता हुनुपर्ने पनि उनले उल्लेख गरे ।
दाहालले केही समयभित्रै नेपालमा केही न केही परिवर्तन हुने संकेत पनि गरे । तर त्यसबारे उनले केही बताएनन् ।
त्यसअघि वीरगन्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि मात्र बनेको आरोप लगाए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको उनको भनाइ थियो ।
उनले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने बताउँदै लेखा समिति सभापतिलाई ठूला आरोप लागे पनि प्रधानमन्त्रीले चोख्याउन तागत लगाइहरेको आरोप लगाए ।
आफू २०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताउँदै दाहालले अब जनताको साथमा रहने प्रतिबद्धता जनाए । सरकारमा हुँदा र प्रतिपक्षमा हुँदा फरक व्यवहार नदेखाउने माओवादीको नीति रहेको उल्लेख गर्दै आफ्नो नेतृत्वको सरकार भ्रष्टाचारीहरूले हटाएको दाबी गरे ।
उनले माओवादी सरकारमा रहँदा भ्रष्टाचारविरुद्धको अभियान छेडिएको र आर्थिक विकासको गति बढाउने प्रयास गरिएको पनि दाबी गरे ।