काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुरक्षित गर्न सबैलाई एकजुट हुन आह्वान गरेका छन् ।
जनकपुरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले अब पछाडि फर्किन नसकिने र लोकतन्त्र बचाउनुपर्ने बताए ।
लोकतन्त्रलाई सुरक्षित गर्न सबै एकजुट हुन आवश्यक रहेको भन्दै डा. भट्टराईले राजतन्त्र भूत भएको टिप्पणी गरे । यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्ने गरेको उनको भनाइछ ।
उनले राजतन्त्रलाई भूत र भ्रम संज्ञा दिए । राजाको पालामा अहिलेको भन्दा तीन गुणा बढी भ्रष्टाचार हुने गरेको पनि उनको दाबी छ । राजतन्त्रको पालामा वाक् स्वतन्त्रता नहुँदा कर्तुतहरू जनताको सामू पुग्नै नसकेको उनले बताए ।
डा.भट्टराईले अहिलेको लोकतान्त्रिक व्यवस्थाले जनतालाई स्वतन्त्र रूपमा बोल्ने, आलोचना गर्ने र सरकार छान्ने अवसर दिएको समेत बताए ।
नयाँ शक्तिको प्रथम महाधिवेशन अन्तर्गत भाव सम्प्रेषण तथा प्रशंसा अभियान कार्यक्रम मधेश प्रदेशको जनकपुरमा सुरु भएको छ । अभियान सुरु हुनुअघि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले वर्तमान राजनीतिक अवस्था, लोकतन्त्रको रक्षा र आर्थिक क्रान्तिको आवश्यकताबारे आफ्नो धारणा व्यक्त गरेका थिए ।
डा.भट्टराईले राजतन्त्र फिर्ता ल्याएर पञ्चायती शासन चलाउने सपना देख्नेहरू आफैँ द्विविधामा छन्। तसर्थ, सत्ताको भोकले तिर्खाएका नेताहरूले पनि यो सत्य स्वीकार गर्नुपर्छ’ उनले भने ।
डा. भट्टराईले पुराना दलहरूबाट अब कुनै परिवर्तन सम्भव नरहेको बताउँदै आर्थिक क्रान्ति, रोजगार, वैज्ञानिक तथा प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा पनि जोड दिए ।
बेरोजगारी हटाउन, वैज्ञानिक र प्राविधिक शिक्षा प्रवद्र्धन गर्न तथा आर्थिक क्रान्ति ल्याउन वैकल्पिक शक्ति एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।