काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले सदनलाई चित्तबुझ्दो जवाफ नदिएमात्रै सदन चल्न नदिने बताएका छन् ।
बुधबार संसद भवन भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री ओलीले सदनलाई जवाफ दिनुपर्ने माग गरे ।
‘प्रधानमन्त्रीले रोष्टममा आएर स्पष्ट जवाफ दिनुपर्छ । चित्तबुझ्दो जवाफ आए सदन चल्छ, नत्र चल्दैन’, उनले भने ।
प्रधानमन्त्री ओलीले टीआरसीको विषयमा छलफल गर्न पटक पटक प्रयास गरेपछि साझा विषय भएकाले आफू बैठकमा गएको उनले बताए । त्यस दिनको बैठकमा कुलमान घिसिङबारे कुनै कुराकारनी नभएको जिकिर गरे ।
उनले टीआरसीसँग कुलमान साटेको आरोपको खण्डन पनि गरेका छन् । यस्तो आरोप बेइमानीपूर्ण र आपराधिक प्रचार बाहेक केही नभएको बताउँदै उनले प्रधानमन्त्री ओलीको नियतमाथि प्रश्न उठाए ।
मैले टीआरसीसँग कुलमान साटेको जस्तो झुटो र बेइमानीपूर्ण आपराधिक प्रचार अरु केही हु्न नसक्ने पनि उनको भनाइ छ । उनले ओलीको पछिल्लो गतिविधिबाट आफूलाई फेरि स्वर्ग र नर्क सम्झाएको टिप्पणी गरे । ‘फेरि एकचोटी जालझेल मलाई महसुस भएको छ । एक दुई दिन पर्खेको भए पनि हुन्थ्यो ?’, ओलीको नियतमाथि प्रश्न उठाउँदै प्रचण्डले भने ।
सोमबार सिंहदरबारमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीको बैठकले सङ्क्रमणकालीन न्याय सिफारिस समिति गठन गर्ने निर्णय लगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक राखेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
यसै विषयलाई लिएर राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रचण्डले टीआरसीसँग कुलमान साटेको आरोप लगाएका थिए ।