काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालद्वारा बुधबार आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मान्छेहरूले आंकलन नै नगरेको भए देश र जनताको लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाबिला गरेर पनि सक्षमता देखाउनुपर्ने बताए ।
‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरूले बताउन सक्छ । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ’ प्रधानमन्त्री ओलीले भने ।
यस शक्तिलाई व्यवस्थित र मर्यादित रूपमा परिचालन गर्न आग्रह गर्दै प्रतिगामी शक्ति टाउको जुधाउन आए वा विकास विरोधीहरूले काममा अवरोध खडा गरे सशक्त प्रतिवाद गर्न निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गर्दै यस विषयमा जवाफ दिइरहनु नपर्ने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले १८ चैतभित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेकामा चिन्ता व्यक्त गरे । विपक्षीलाई आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरू । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईँहरू चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।’