रौतहट : नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवस रौतहटको गौरमा विशेष कार्यक्रम आयोजना गरेर मनाइएको छ । ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी’ भन्ने मूल नारासहित आयोजना गरिएको प्रभातफेरी कोणसभामा परिणत भएको थियो ।
४७औं नेत्रज्योति दिवसको अवसरमा गौरको बी.पी. चोकबाट सुरु भएको प्रभातफेरी भन्सार हुँदै राइस मिलसम्म पुगेको थियो । प्रभातफेरीमा नेपाल नेत्रज्योति संघका प्रतिनिधिहरू, गौर आँखा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू, विभिन्न राजनीतिक दलका नेताहरू, सामाजिक अभियन्ताहरू र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
राइस मिलमा आयोजित कोणसभामा गौर आँखा अस्पतालका प्रमुख नगेन्द्र चौधरीले नेत्र स्वास्थ्यको महत्वबारे प्रकाश पार्दै नियमित आँखा जाँच गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘आँखालाई माया गरौं । समय समयमा आँखा जाँच गराए दृष्टिविहीन हुनबाट बच्न सकिन्छ ।’
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले नेपालमा नेत्र स्वास्थ्य सेवाको गुणस्तर सुधार भइरहेको बताए । विशेषगरी भारतबाट समेत बिरामीहरू नेपालमा आँखा उपचारका लागि आउने क्रम बढेको भन्दै उनीहरुले खुसी व्यक्त गरेका थिए ।
गौर आँखा अस्पतालको व्यवस्थापनमा सम्पन्न कार्यक्रमले नेत्र स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गरेको सहभागीहरूले बताएका छन् ।