२०८१ चैत १८ गते सोमवार / Mar 31 , 2025 , Monday
२०८१ चैत १८ गते सोमवार
Ads

क्रियाको प्रतिक्रिया हुने राजसंस्था पुनर्स्थापना समितिको चेतावनी

draupadi film
मध्यान्ह
२०८१ चैत १४ गते १७:०४
क्रियाको प्रतिक्रिया हुने राजसंस्था पुनर्स्थापना समितिको चेतावनी


काठमाडौं : नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले क्रियाको प्रतिक्रिया हुने चेतावनी दिएको छ ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर समितिका संयोजक नवराज सुवेदीले सरकारले आफूहरूको शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरे प्रतिक्रिया दिने चेतावनी दिए । उनले चैत २१ गतेदेखि आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने बताए । 

पत्रकार सम्मेलनमा जारी १० बुँदे विज्ञप्तिमा ‘क्रिया भए प्रतिक्रिया हुने’ चेतावनी दिइएको छ ।

‘नेपाली समाजले अब थप द्वन्द्व, मुठभेड, तोडफोड आगजनी र आमहड्ताल, ध्वंसात्मक हिंसा–प्रतिहिंसा र गृहकलह धान्न वा सहन गर्न नसक्ने धरातलीय यथार्थप्रति संवेदनशील भएर हामीले अहिंसात्मक एवं शान्तिपूर्ण सहकार्यको प्रक्रिया तथा मार्ग रोजेका छौँ । तर, विज्ञानको नियमअनुसार क्रिया भएपछि प्रतिक्रिया त हुन्छ नै । यदि यसलाई हाम्रो कमजोरी ठानेर बेवास्ता वा उपेक्षा भएमा त्यसको परिणामअनुकूल नहुन सक्छ,’ विज्ञप्तिमा भनिएको छ ।
त्यसैले आफूहरूको माग शान्तिपूर्ण ढङ्गबाटै पूरा गर्न समितिले आग्रह गरेको छ । 

‘हाम्रो पहिलो प्राथमिकता राजसंस्था पुनर्स्थापना गरेर सर्वपक्षीय सम्मेलनबाट सहमतिको बाटोमा अघि बढ्न सकियोस् भन्ने रहेको छ,’ समितिले विज्ञप्तिमा भनेको छ ।

संयोजक सुवेदीले शुक्रबार तीनकुनेमा बृहत प्रदर्शन गरिने बताए ।

चैत्र २१ गतेदेखि आन्दोलनका थप कार्यक्रमहरू गर्दै जाने उनको भनाइ छ । ‘आजको मितिले एक हप्ताभित्र सरकारले हाम्रो शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा हामी हाम्रो आन्दोलनलाई चैत्र २१ गतेदेखि सशक्त बनाउँदै लैजान बाध्य हुनेछौँ । त्यसबाट सृजित नतिजाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्नेछ’, उनले भने । 

सुवेदीले नवगठित संयुक्त जनआन्दोलन समितिमा ‘जनकमाण्डर’को जिम्मा दुर्गा प्रसाईलाई दिइएको समेत बताए । 
यसैबीच समितिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता तथा सांसद धवलशमशेर राणाको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ । समितिमा देशभरबाट १,१११ सदस्य रहने छन् । 

आन्दोलन परिचालन समितिअन्तर्गत एउटा उच्चस्तरीय कार्यदल पनि रहने समितिले जनाएको छ । आवश्यकताअनुरूप उपसमितिहरूसमेत बनाउन सकिने बताइएको छ । 

यस्तै संयुक्त जनआन्दोलन समितिलाई सुझाव र सल्लाह प्रदान गर्नेगरी जगमान गुरुङको नेतृत्वमा सल्लाहकार समितिसमेत बनाइएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise