२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

Nada
२०८३ जेठ ३१ गते १७:०८
Shares
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

काठमाडौँ : कर्णाली क्षेत्रका महिलाको संघर्ष र जीवनकथामा आधारित सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ ।

ncell

अक्षर आँगन प्रकाशन गृहद्वारा प्रकाशित उक्त उपन्यासको विमोचन साहित्यकारहरू कृष्ण धरावासी, उमा सुवेदी, प्रेम कैदी र टीकाराम यात्री लगायतले संयुक्त रूपमा गरेका थिए ।

नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही, राष्ट्रियसभा सदस्य सावित्री मल्ल, साहित्यकार, लेखक, पाठक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा पत्रकार टीकाराम यात्रीको सहजीकरणमा साहित्यकार कृष्ण धरावासी, समालोचक उमा सुवेदी र उपन्यासकार सिर्जु शाहबीच कृतिका विभिन्न पक्षबारे विमर्श गरिएको थियो ।

उपन्यासको भूमिका लेखकसमेत रहेका साहित्यकार कृष्ण धरावासीले कृतिले कर्णालीका महिलाले भोगेका पीडा र संघर्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताए । पहिलो कृति भए पनि लेखनशैली, भाषा र कथावस्तुका दृष्टिले उपन्यास सशक्त रहेको उनको भनाइ थियो । उनले ‘बैकिनी’ ले कर्णालीलाई नयाँ दृष्टिकोणबाट चिनाउन सक्ने विश्वास व्यक्त गरे ।

समालोचक उमा सुवेदीले उपन्यासमा कल्पना र यथार्थबीच सन्तुलन कायम गरिएको बताउँदै महिलाकेन्द्रित कथाले संघर्षका नयाँ आयाम उजागर गरेको उल्लेख गरिन् । उनले नीति निर्माण तहमा रहेका व्यक्तिहरूले समेत यो कृति अध्ययन गर्नुपर्ने धारणा राखिन् ।

लेखिका सिर्जु शाहले जागिरे जीवनका क्रममा भेटिएका महिलाहरूको वास्तविक अवस्था र संघर्षबाट प्रभावित भएर उपन्यास लेख्ने प्रेरणा पाएको बताइन् । उनले समाजमा महिलाले अझै भोगिरहेका चुनौती र संघर्षलाई साहित्यमार्फत उजागर गर्ने प्रयास गरेको उल्लेख गरिन् ।

विमोचनपछि आयोजित छलफलमा वक्ताहरूले ‘बैकिनी’ को सामाजिक सन्देश र साहित्यिक महत्वबारे चर्चा गर्दै यसले नेपाली साहित्यमा महत्त्वपूर्ण स्थान बनाउन सक्ने विश्वास व्यक्त गरेका थिए ।

कर्णाली क्षेत्रको आञ्चलिक शब्द ‘बैकिनी’ को अर्थ ‘तरुनी’ हो । विभिन्न संघर्षका बीच जीवन अघि बढाइरहेका महिला पात्रलाई केन्द्रमा राखेर लेखिएको यो उपन्यासले कर्णालीका महिलाको जीवन, पीडा, साहस र विद्रोहलाई उजागर गरेको छ ।

सम्बन्धित खबर