
पनौती : साहित्यिकार ध्रुवकृष्ण ताम्राकारको नवीन उपन्यास ‘दह’ लोकार्पण गरिएको छ । आज पनौतीमा एक कार्यक्रमकाबीच उपन्यासकार प्रा.डा. विष्णु एस राईको प्रमुख आतिथ्यमा ‘दह’ लोकार्पण गरिएको हो ।
कार्यक्रममा कथाकार ताम्राकारलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि राईले सामाजिक, व्यवहारिक र घरघरका घटनाक्रममा आधारित रहेर उपन्यास लेखिएको बताए ।
साहित्यकार सूर्यप्रसाद लाकोजूले सर्जक ताम्राकार उपन्याससँगै कथा, गीत, कविताका विधामा पनि कलम चलाउने साहित्यकार भएको बताए ।
त्यस्तै समालोचक डा. हरिप्रसाद सिलवालले उपन्यास पठनीय रहेको र कथा अनुसार दह शीर्षक सान्दर्भिक रहेको बताए । अर्का प्रमुख वक्ता ध्रुब मधिकर्मीले उपन्यास यथार्थको धरातलमा आधारित रहेको विचार व्यक्त गरे ।
नेपाली समाजको यथार्थ चित्रण गरेर तयार पारिएको उपन्यास ‘दह’ अक्षरमार्गले प्रकाशन गरेको हो ।