रौतहट : रौतहटमा २१ फरार प्रतिवादीहरु पक्राउ परेका छन् । चैत १४ गते अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको विभिन्न मुद्दाका २१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले खोज तलास तथा पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा शेख राज महमद, मनिरा खातुन, अमिरखा देवी तथा गणेश साह कानु रहेका छन् । उनीहरु कुटपिट जस्ता मुद्दामा अदालतबाट दोषी ठहर भएपछि फरार रहेका थिए । उनीहरुको जरिवाना शुल्क रु.२०, रु. ५० र रु. ३१ रहेको प्रहरीले जनाएको छ । त्यस्तै पक्राउ पर्ने भोला पासवान, गणेश राय यादव, सुकदेव राय यादव र महमद अनुप रहेका छन् । उनीहरु जालसाजी अपराध मुद्दामा दोषी ठहर भइ फरार रहेका थिए । उनीहरुको जरिवाना शुल्क रु. ६७, रु. १० र रु.२००/२०० फैसला भएको थियो ।
यस्तै घरेलु हिंसामा दोषी ठहर भइ ३ हजार रुपैयाँ जरिवाना सुनाइएका रूपेश महतालाई प्रहरीले पक्राउ गरेको छ ।
त्यसैगरी अर्का दुई जना किर्ते मुद्दामा सजाय सुनाइएका शेख उल्लाह तथा मोनिका शेखिनलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको जरिवाना शुल्क रु.५/५ रहेको छ । यस्तै किर्ते मुद्दामा अदालतले रु. ५० जरिवाना सुनाइएका रामअश्रे रायले पनि पक्राउ परेका छन् ।
यस्तै वन मुद्दामा रु. ५१२५ जरिवाना सुनाइएका ब्रहमदेव कुमर पनि पक्राउ परेका छन् । मुदसिर हुसेन सिद्दिकी तथा बन्दना मिश्रा चेक अनादर जस्ता अपराध मुद्दामा पक्राउ परेका छन् ।
उनीहरुको जरिवाना शुल्क रु. १५०० तथा १००० रहेको प्रहरीले जनाएको छ ।
अर्का तीन जना राम बिजय सहनी, निलम देवी र गणेश राय यादव अभद्र व्यवहार, सम्बन्ध बिच्छेद तथा लुटपिट जस्ता मुद्दामा पक्राउ परेका छन् । अदालतले उनीहरुलाई शुल्क रु. ७३००, २५ तथा २३४० जरिवाना सुनाएको थियो ।
अर्का तीन जना मैरूदिन, छविलाल चौधरी तथा मिर मुस्तुफालाई लेनदेन बिगो र सवारी ज्यान मुद्दामा फरार रहेका थिए । कैद सजाए सुनाइएका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको कैद सजाय २ वर्ष, ६ महिना र १ महिना रहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी दिएका छन् ।